Logo

दराजले आइसिटी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने



भदौ २४, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । वुधवार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ ।

दराज नेपालको अग्रणी इकमर्श कम्पनी हो, जसले अनलाइन मार्केटप्लेसको रुपमा देशैभरी सेवा प्रदान गरिरहेको छ । दराजमा २० हजारभन्दा बढि बिक्रेताहरु समावेश भएको कम्पनीले जनाएको छ । दराजले आगामी शनिवार भृकुटीमण्डपमा दशै महोत्सव आयोजना गर्दैछ भने अन्य दराज समिट लगायतका कार्यक्रम र क्याम्पियनहरु पनि आयोजना गर्दै आइरहेको छ ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्डको सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।

नेपाली स्टार्टअप तथा इन्नोभेसनहरुको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको जनाइएको छ ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ ।

यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ । अवार्डमा नोमिनेशन वा अन्य जानकारीको लागि आधिकारिक वेबसाइट ‘आइसिटी अवार्ड डटओआरजी https://ictaward.org ‘ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्