Logo

एमाले फुट्दा यसकारण ओली र माधव नेपाललाई फाइदा



काठमाडौं, २६ भाद्र । नेकपा एमालेमा बामदेव गौतम नअटाउनुको एउटा कारण हो विधानमा उमेरहद । नेकपा एमालेको विधानले ७० वर्ष पुगेपछि कुनैपनि कार्यकारी पदमा रहन नमिल्ने गरी स्पष्ट व्यवस्था गरेको छ । बामदेव गौतम ७० कटिसकेका छन् । विधानले उनी कुनैपनि कार्यकारी पदमा रहन मिल्दैन । उनी अटाउने भनेको सल्लाहकार पदमा मात्र हो ।

केपी शर्मा ओलीले विधान नै संशोधन गरेर अन्तिम पटकका लागि अध्यक्ष पद सुनिश्चित गरेका थिए । विधान संशोधन गरी उनी अध्यक्ष त बने तर अर्को कार्यकाल यही विधान बमोजिम अध्यक्ष त के केन्द्रीय सदस्य पनि बन्न मिल्दैन । होइन भने संशोधन गर्नुपर्ने हुन्छ ।

एमालेको विधान अनुसार माधवकुमार नेपाल पनि ७० पुगेकाले अध्यक्ष वा कुनैपनि केन्द्रीय पदमा बस्न मिल्दैन । झलनाथ खनाल पनि मिल्दैन ।
ओली र माधव नेपालबीचको विवादले दुवैलाई राजनीतिमा सक्रिय रहने बाटो खोल्यो । एमालेमा ओलीको एकछत्र प्रभाव चल्यो । जसका कारण उनी उमेरहद आफ्ना लागि हटाएर अध्यक्ष बन्न सफल भए । उनको विरोधमा कोही उभिएन । अध्यक्ष पदमा भीम रावलले मात्र चुनौती दिए ।

माधव नेपाल एमाले छाडेर नेकपा एस खोल्न पुगे । नत्र उनलाई उमेरहद लाग्दथ्यो । झलनाथ खनाल पनि माधव नेपालसँग जानु वाध्यकारी बन्यो । यसरी एमाले फुट्दा ओली र माधव नेपाललाई मात्र नभई खनाललाई पनि फाइदा पुग्यो ।

विगतमा ७० को उमेरहदले सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित जस्ता पाका नेताहरु राजनीतिबाट सन्यास लिन पुगे । मोहनचन्द्र अधिकारी पनि सन्यासको अवस्थामा छन् । तर, ओली, माधव नेपाल र खनाल जस्ता नेताहरु एमाले विभाजनबाट राजनीतिमा सक्रिय नै रहिरनने अवस्था बन्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot