Logo

जुनसुकै बहानामा भए पनि चिनियाँ नाका अवरुद्ध हुनु जायज छैनः टंक कार्की



काठमाडौं, २७ भदौ । कूटनीतिज्ञ टंक कार्कीले विभिन्न शक्ति राष्ट्रहरुको नेपाल भ्रमण विश्व राजनीतिको परिवर्तनका लहरको प्रभाव भएको बताएका छन् । “छिमेकी मुलुक भारत, चीन लगायत शक्ति राष्ट्रहरुको प्रतिनिधिहरुको भ्रमण स्वाभाविक प्रक्रिया हो । र, यो विश्व राजनीतिक परिवर्तनका लहरहरुको प्रभाव पनि हो । उनीहरुले नेपालले आफूप्रतिकूल निर्णय नलेओस् भन्ने चाहेको हुन सक्छन्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कार्कीले भने ।
युक्रेन–रुस मामिलामा नेपाल पश्चिमा एजेन्डामा गएपछि चीन संशकित भएको कार्कीको टिप्पणी छ । उनले भने, “चीन नेपालमा कम्युनिस्टहरु मिलाउन आएको भन्ने हौवा मात्र हो । नेपालमा कम्युनिस्टहरु दुर्बल हुँदा पनि उसको सम्बन्ध राम्रै थियो । विदेश नीतिमा राष्ट्रिय स्वार्थको लेनादेना हुन्छ । साखुल्य छ कि छैन, हेर्दैन । चीनलाई नेपाल कहाँ उभिन्छ भन्ने परेको हुन सक्छ । नेपालले पनि के बुझ्नुपर्छ भने तरबारको धारमा हिँड्दा अलिकति सन्तुलन बिग्रियो भने नोक्सानी आफैंलाई हुन्छ । क्षणिक तुष्टीकरणका लागि धोती–टोपी बिर्सने काम गर्नुहुन्न ।”
कूटनीतिज्ञ कार्कीले जुनसुकै बहानामा चीनले नाका बन्द गर्न नहुने पनि बताए । उनले थपे, “हामी सबै नेपाली राष्ट्रिय हितमा उभिनुपर्छ । जुनसुकै बहानाबाजीमा चिनियाँ नाका अवरुद्ध हुनु जायज छैन । चीनले नेपाली जनताको भावनालाई गम्भीरतापूर्वक लिएर रेस्पोन्स गर्नुपर्छ ।” चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणमा पनि यो कुरा उठ्नुपर्ने उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्