Logo

केन्द्रीय गठबन्धन नगरे पनि अधिकतम सिटमा तालमेल गर्छौंः ईश्वर पोखरेल



काठमाडौं, २८ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय गठबन्धन नभए पनि आफ्नो पार्टी अधिकतम सिटमा तालमेल गर्ने पक्षमा रहेको बताएका छन् । “हामी जहिल्यै पनि वामपन्थी, देशभक्त, प्रगतिशील शक्तिसँग तालमेलको पक्षमा हुन्छौं । २०४८ मा पनि कांग्रेससँग गरौं भनेका थियौं तर उसले स्वर्गमा गए पनि जित्छौं भन्ने दम्भ देखायो । यसपटक केन्द्रीय गठबन्धन नगरे पनि स्थानीय आवश्यकताअनुसार अधिकतम सिटमा तालमेल गर्छौं,” प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पोखरेलले भने । दलहरुसँग सार्थक छलफल गरेर सिट तालमेल हुने पनि उनले बताए ।
नेकपा एमालले बहुमतका साथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने दाबी पनि उनले गरे । पोखरेलले थपे, “एमालेका तर्फबाट केपी शर्मा ओली नै प्रधानमन्त्री हो । उहाँ स्पष्ट भिजन भएको नेता हो । प्रधानमन्त्री भनेको दामासाहीले बाँड्ने वा आलोपालो गर्ने पद होइन । केपीको तुलनामा गठबन्धनबाट शेरबहादुर देउवा वा जो आउनु होला, जनतालाई दाँज्न पनि सजिलो हुन्छ ।”
प्रचण्डको सत्ताकब्जाको योजना ओलीले असफल पारेको पनि उनले बताए । पोखरेलले भने, “पुष्पकमल दाहालको अन्तरविरोध छ भने त्यसमा खेल्ने र नभएको ठाउँमा अन्तरविरोध खडा गर्ने हो । केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने खेल भए पनि प्रचण्डको सत्ता कब्जा गर्ने योजना ओलीले सफल हुन दिनुभएन ।”
एक वाम एक ठाम भावनात्मक कुरा मात्र भएको पनि पोखरेलले बताए । उनले भने, “वाम एकता प्रिय शब्द हो । तर यतिबेला भावनात्मक कुरा मात्र गरेर हुँदैन । एमालेको मुख्य एजेन्डा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि हो । तर गठबन्धनको कुनै गन्तव्य छैन । गठबन्धन दलहरु प्लास्टिकको पोकामा बसेका छन् । एमालेलाई हराउन सक्दैनन् ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot