Logo

कविता विधाका स्रष्टा र पाठक धेरै छन् : बाजुराम पौडेल (संवार्ता)



पिता/माताः दधिराम पौडेल र गगनकुमारी पौडेल
जन्मस्थान : जगडोल, बुढानीलकण्ठ नगरपालिका
अध्ययन : एमए (त्रिविवि २०३९)
प्रथम प्रकाशित रचना : आँसुको जीवन (कविता–२०३३)
प्रकाशित कृति : सिर्जना फस्टाउनुपर्छ (खण्डकाव्य, २०५१) बाजुरामका कविताहरू (कवितासङ्ग्रह, २०६५) सुरभि स्रष्टा परिचय (सम्पादन, २०६६) शीत–स्वर्र्णा (कवितासङ्ग्रह, २०६८) भन्ज्याङ र चौतारी (आत्मवृत्तान्त, २०६९) शान्ताश्री (महाकाव्य, २०७३) जियालो (संयुक्त महाकाव्य, २०७३) उनी उर्मिला (महाकाव्य, २०७५) निशा (उपन्यास, २०७६) जुनकीरी (बाल महाकाव्य, २०७७) छोडिएका पाइला (निबन्धसङ्ग्रह, २०७७) अर्को संसार (उपन्यास, २०७८) लुसाको फेरो (उपन्यास, २०७९)
प्रकाशनोन्मुख कृति : प्रभावती (पौराणिक उपन्यास)

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
वि.सं. २०२५ मा कविता लेखेदेखि लेखनयात्रा सुरु भयो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
लेखन गतिविधि पूर्ण सक्रियताका साथ चलिरहेको छ ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ आमा र दिदीहरूको वाचन सुनेर ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट हुन सकेको छैन ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
पौराणिक उपन्यास बजारमा आउँदै छ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
भाषा साहित्य र कला देशका निधि हुन् । यी तीनै तत्वले देशको सभ्यता, विकास आर्थिक समृद्धि र चेतनास्तर निर्धारण गर्ने हुँदा हरेक देशको लागि यी महत्वपूर्ण मानकका रूपमा रहन्छन् । साहित्य र कलाविना राजनीति लङ्गडो र त्यसको नेता खोरण्डो बन्दछ भन्ने सत्यता पनि त्यतिकै सान्दर्भिक लाग्छ । नेपालको राजनीतिक संस्कारले साहित्य र कलालाई अझै अनुत्पादक मानिरहेको यस अवस्थामा साहित्य र साहित्यका स्रष्टाले यसतर्फ राज्य पनि छ भन्ने अनभूति पाएका छैनन् ।

तपाईंको साहित्यिक आदर्श के हो ?
समाजमा साहित्यिक प्रभाव छरेर असल समाज निर्माणमा सहयोग पु¥याउनु नै साहित्यिक आदर्श हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
साहित्य र कलाका असल साधकले यस्तो दायित्व राम्ररी वहन भइरहेकै छ ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
लेखनकार्यमा पूर्णविराम लगाउने सन्तुष्टि ममा छैन । यस्तै सन्तुष्टिकै खोजमा नै म नयाँ सिर्जना गर्न रुचाउँछु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजोको साहित्य लेखन अध्ययन, चिन्तनमनन र प्रतिभाबाट गहन अनि गम्भीर प्रकृतिका सिर्जना निस्कन्थे । आजको बदलिँदो परिस्थितिले मानिसलाई गहनताभन्दा सतहमा अल्मल्याइरहेको छ । अन्तर्मुखी साधनाको अभाव देखिन्छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
सार्वकालिक र सर्वजनीन साहित्य लेखिनुपर्दछ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
आफूले अनुभूत गरेको परिवेशले नै साहित्य लेखनको प्रेरणा दिन्छ भन्ने लाग्दछ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
भावना स्फूरणको अवस्थामा जुनवेला पनि लेख्न बस्दछु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
शान्त एकान्त स्वस्थ र शीतल वातावरण चाहिन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
बाह्यजगत्मा घटित घटनाका दृश्य र श्रवणमा लेख्ने विषयवस्तु आफैं उब्जन्छन्, त्यसलाई लिपि अनि लयमा उतार्ने प्रयास गर्दछु ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
सहज र सरल अभिव्यक्तिबाट पाठक–मन आह्लादित पार्ने कला नै सफल स्रष्टाका आवश्यक गुण हुन् ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
कविता विधाका लेखक धेरै भएका हुँदा पाठक पनि त्यसतर्फ नै बढी छन् भन्ने लाग्दछ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
साहित्य कलामा सजीवता उतार्नु भनेको त्यसको यथार्थमा पुग्नु हो । यसमा वस्तुको वस्तुता देखा पर्दछ भने साहित्य कलाको भरपर्दाे सिर्जना भने बन्न सक्दैन । साहित्य कला प्रभावकारी बनाउने तत्त्व हृदयपक्षसँग हुन्छ । यो तत्व कहिले मन कहिले भावना र कहिले कल्पनाका स्वरूपमा प्रकट हुँदै सजीव सिर्जनाका रङ्गरोगन गर्दछन् । त्यसैले भनिन्छ– कुनै पनि सिर्जना यथार्थ र कल्पनाका सीमा अनि सन्तुलनले अमर हुने हुँदा यी दुवै तत्वको उचित संयोजनको उत्तिकै भूमिका रहन्छ भन्ने लाग्दछ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
सिर्जनात्मक स्फूरण समयको एउटा प्रवाह हो । त्योभन्दा बढी अजस्र जलप्रवाहजस्तै पनि हो । कवि, साहित्यकार वा कलाकारका सिर्जना स्फूरण समय र जलप्रवाह उस्तै भएको हुँदा यसले स्रष्टालाई पर्खंदैन । एउटा अमर र कालजयी सिर्जना लोप हुने हुँदा स्फूरणकाल नै साहित्य कलाको लिपिबद्ध गर्ने बाध्यताको क्षण हो भन्ने लाग्दछ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
लेखनका विषयवस्तु हाम्रै परिवेशका दैनिकी हुन् । यही दैनिकीका परिदृश्यमा आफूलाई तन्मय गरी त्यसभित्र प्रवेश गर्दै सुखद सन्देश प्रवाह गर्नु वेश हुन्छ भन्ने सन्देश नै सर्वाेपरि लाग्दछ ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
कमजोर प्रतिभा तर महत्वाकाङ्क्षा ठूलो हुने स्वभाव भएका अवसरवादी स्रष्टाका मनले राजनीतिक दलका झण्डामुनि ओत लाग्ने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्