Logo

तालमेल हुन्छ, गठबन्धन हुँदैनः एमाले नेता



काठमाडौं, २९ भदौ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टी गठबन्धनको पक्षमा नभएको बताएका छन् । “निर्वाचन क्षेत्रमा तालमेल हुनु एउटा कुरा हो, राष्ट्रिय स्तरमा कसैसँग गठबन्धन हुँदैन । दुईचार ठाउँमा हुने कुरालाई गठबन्धन भनिँदैन । एकदुई ठाउँमा तालमेल त हिजो पनि भएको थियो, अहिले पनि हुन्छ । तर एमालेले कसैसँग गठबन्धन गर्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने ।
चीनले वामपन्थी गठबन्धनका लागि दबाब दिएको भन्ने कुरा अनुमान मात्र भएको पनि उनले औंल्याए । डा. भट्टराईले भने, “नेपालको राजनीति चीनले गरेर हुन्छ र ? चीनले गरेर हुने भए नेकपा एमालेको संघ र प्रदेशको सरकार ढल्थ्यो ? चीनले वामपन्थी मिलेर लड भनेको मैले सुनेको छैन । यो अनुमान मात्र हो ।”
एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीचको भेट फलदायी भएको पनि उनको दाबी छ । उनले भने, “लीले नेकपा एमालेको एक चीन नीतिको अडानमा प्रशंसा गर्नुभयो र धन्यवाद दिनुभयो । दुई देशको सम्बन्ध र विगतका सहमति पालना गर्दै अघि बढ्ने छलफल भयो । हामीले छिमेकी विरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने दृढता व्यक्त गर्यौं ।”
चीनमा पढ्ने विद्यार्थी यथासम्भव लैजाने र चाडपर्व अगाडि नै नाका खोल्ने विषयमा पनि छलफल भएको उनले बताए । डा. भट्टराईले भने, “चीनले नेपालको संवेदनशीलता र चीनमुखी अर्थतन्त्रबारे बुझ्नैपर्छ । यसमा सरकारले पनि पहल गर्नैपर्छ ।”



प्रतिक्रिया दिनुहोस्