Logo

असोज ३१ भित्रै महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझाउँछौंः मीन विश्वकर्मा



काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सांसद एवं नेता मीन विश्वकर्मा महाभियोग सिफारिस समितिको प्रतिवेदन तीन दिनभित्र संसद्मा दर्ता गरिने बताएका छन् । “महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सक्यो । अभियुक्तले खोलेका, पोलेका व्यक्तिलाई बोलाउँछौं । कागजातका बारेमा भोलि बुझ्छौं । समितिले पाएको जिम्मेवारी टुंग्याएर तीन दिनभित्र संसद्मा प्रतिवेदन बुझाउँछौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने ।
उनले प्रतिवेदनमा नेकपा एमालेको विमति नरहने दाबी पनि गरे । विश्वकर्माले भने, “महाभियोग कुनै रहर र लहडमा ल्याइएको होइन । बयान एउटा धारणा मात्र हो । अरु कागजात र प्रमाण यथेष्ट छन् । चार महिनासम्म न्यायपालिका अवरुद्ध भएको होइन ? बारले बेन्च बहिष्कार गरेको होइन ? बेन्चले बेन्च बहिष्कार गरेको होइन ? महाभियोग हचुवाका भरमा आग्रह र पूर्वाग्रहका भरमा लाग्ने विषय हो र ? हामीले बाध्यात्मक परिस्थितिमा नल्याईकन नहुने अवस्थामा ल्याएका हौं । त्यसैले हामी एकमतले निर्णय गर्छौं ।”
समितिका सदस्य समेत रहेका सांसद विश्वकर्माले महाभियोग सिफारिस समितिलाई समय अपुग भएको पनि बताए । उनले भने, “हामीलाई कम्तीमा तीन महिनाको समय चाहिन्थ्यो । निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउनुअघि प्रतिनिधिसभाको कार्यकाल सकिने बताएपछि हामीले पाँच हप्ताभित्र काम सक्दैछौं ।”
प्रधानन्यायाधीश राणाले पोलेका व्यक्तिहरुलाई बयानका लागि पत्राचार हुने पनि उनले बताए । विश्वकर्माले थपे, “उहाँले पोलेका व्यक्तिहरुलाई आउनैपर्छ भन्ने बाध्यता छैन । तर हामी प्रतिरक्षा वा स्पष्ट पार्ने अवसर दिन्छौं । यसबारे स्पष्ट पार्न ठीक ठान्नुभयो भने आउनुहुन्छ तर नआए पनि बाध्यता होइन ।”
महाभियोगको प्रक्रिया पूरा नभए प्रधानन्यायाधीश राणा अदालत फर्कने स्थिति आउन सक्ने भयो नि भन्ने पत्रकार धमलाले भने, “संसद्को बहुमतले अस्वीकार गरे त उहाँ अदालत जानु होला । तर मतदानको प्रक्रिया टुंगिएन भने अभियुक्तको निलम्बन निरन्तर रहन्छ । मुद्दा विचाराधीन छ । जुन अवस्थामा छ, त्यही अवस्थामा रहन्छ । संसद् चुनावका लागि नरहने हो । फेरि आइहाल्छ । मुद्दा हेर्दाहेर्दै कुनै न्यायाधीशले अवकाश पाए भने अर्को न्यायाधीश आउँदैन र ?”
अर्को प्रसंगमा कांग्रेस नेता विश्वकर्माले गठबन्धनमा सिटको विवाद नभएको पनि औंल्याए । उनले भने, “गठबन्धनमा सिटको विवाद होइन, दाबी हो । विवाद भए गठबन्धन रहँदै रहँदैन । उम्मेदवारीको बाँडफाँट नमिलेको हो । राजनीतिक विषय दसैंको टीकाको साइत भनेजस्तै यही मितिमा टुंगिन्छ भन्ने छैन । सबैलाई सन्तोष हुने गरी सिट टुंग्याउन हामी प्रयत्नशील छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot