Logo

‘निर्वाचनमा विश्व चकित पार्ने परिणाम ल्याउने छौं’



पोखरा, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेले विश्व चकित पार्ने गरी कसैले नसोेचेको परिणाम ल्याउने बताएका छन् ।

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन जनतालाई जगाएर निर्वाचनको तुफानी अभियान चलाउने बताए ।

अध्यक्ष ओलीले भने,‘मंसिर ४ गतेको निर्वाचन हामीले जित्नैपर्छ । त्यो जित एमालेको लागि तथा लोकतान्त्रिक तमु संघका लागि होइन, देशको विकास, तमाम जनताको हित, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र समानताका लागि जित्नुपर्छ । विकास अबरुद्ध गर्ने, सामाजिक सद्भाव भत्काउनेलाई देखाउन यो निर्वाचन एमालेले जित्नपर्छ ।’

आगामी निर्वाचन समान्य र नियमित प्रक्रिया मात्र नभएर लोकतान्त्रिक प्रक्रिया तथा संरचना भत्काउने, संविधान मिच्ने, सामाजिक सद्भाव विथोल्ने, कानुनको उल्लङ्घन गर्ने र राष्ट्रिय हितमा कुठाराघात गर्नेलाई परास्त गर्न केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले गलत मनसायले बनेको अपवित्र गठबन्धन सरकारले निर्वाचनमा धाँधली र बुथ कब्जा गर्ने रणनीति अपनाएको वताउँदै एमालेजनले मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मतदान गर्नेको सङ्ख्या बढाउनेदेखि मतदाताको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।
उनले युवा, विद्यार्थी लगायतका जनसंगठन हँुदाहुँदै कसैले बुथ कब्जा गरे हाम्रो कमजोरी हुने हुँदा बुथ कब्जा हुन नदिन निर्देशन दिए ।

अध्यक्ष ओलीले सरकारले राष्ट्रियता खतरामा पुर्याएको, गठबन्धनले सत्तामा रहेर लुटतन्त्र चलाएको बताए । उनले भने,‘यस्तो सरकार, जसले परराष्ट्र सम्बन्ध बिगारेको छ, राष्ट्रियता खतरामा पुर्याएको छ, स्वाधीनता, स्वतन्त्रताको उपयोग गर्ने हिम्मत नै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुट मच्चाउनेबाहेक गठबन्धनको कुनै ध्यान छैन । सरकारले कुनै पनि काममा जवाफदेही र जिम्मेवारी देखाउँदैन ।’
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय समस्या हो भनेर मैले २०५६ सालमै भनेको थिएँ, अहिले पनि उनी देशका लागि समस्या हो,’ अध्यक्ष ओलीले भने,‘यता जाँदा फाइदा छ कि कता जाँदा फाइदा हुन्छ त्यतिमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन ।’ नेपाली काँग्रेस पहिलेको काँग्रेस नभई बेहाल अवस्थामा पुगेको उनको विश्लेषण थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नरेन्द्रराज वाग्ले, केन्द्रीय सदस्य फजउद्दिन मियाँ, गोरखाका उद्यमी विजय मल्ल, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य गीता हमाल र नेपाली काँग्रेसका लमजुङका कार्यकर्ता सूर्यबहादुर गुरूङ, नेकपा एकीकृत समाजवादीका नेता राम नेपाली लगायत विभिन्न पार्टीका ५० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

अध्यक्ष ओलीले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा एमालेका उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङ, सचिव पदमा अर्याल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित थिए । Photo Source : Cpnuml.org



प्रतिक्रिया दिनुहोस्