Logo

लोसपाको गठबन्धन एमालेसँग हुन्छः लक्ष्मणलाल कर्ण



काठमाडौं, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी नेकपा एमालेसँग सहकार्य गर्ने पक्षमा रहेको बताएका छन् । “सुरुमा हामीले कांग्रेससँग मिलेर जाने भनेका थियौं । तर कांग्रेसले एक सिट पनि दिएको थिएन । सँगै जाऊँ मात्र भनेको हो । अहिले हामी एमालेसँगको कुराकानीमा गरिरहेका छौं । त्यसो परिणाम दुई-चार दिनमा आउँछ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने । उनले एमालेसँग कुरा मिल्ने विश्वास समेत व्यक्त गरे ।
लोसपा नेता कर्णले एमालेसँग सिटको कुरा नभएको पनि बताए । उनले भने, “अहिले यति उति सिट भनेर निश्चित भएको छैन । हामीले यति सिट देऊ पनि भनेका छैनौं । जहाँ एमालेले जित्छ, त्यहाँ एमाले उठ्छ । जहाँ हामीले जित्छौं, त्यहाँ हामी उठ्छौं । अहिले हामी कहाँ कहाँ जित्न सक्छौं भनेर विश्लेषण गर्दैर्छौं ।” मधेस प्रदेशमा मात्र होइन देशभरि नै तालमेल हुने पनि उनले औंल्याए ।
संसद्बाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्ने विश्वास समेत उनले व्यक्त गरे । कर्णले भने, “मुलुकमा नागरिकता नपाउनेको ठूलो समस्या बुझेर राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ भन्ने आशा छ । राष्ट्रपतिले संविधान नमान्ने कुरा आउँदैन । संसद्ले दोस्रो पटक पठाएपछि प्रमाणीकरण गर्नुपर्ने बाध्यता हुन्छ । अन्यथा यो संविधानको कोही माईबाप रहेछ भन्नुपर्ने हुन्छ । संविधान राष्ट्रपतिले नमान्ने, अदालतले नमान्ने भएपछि कसले मान्छ ?”
साथै उनले चीनले यतिका समयसम्म किन नाका बन्द गरेको भन्ने यथोचित कारण दिन सक्नुपर्ने पनि औंल्याए । उनले थपे, “यहाँ भारतले गर्दा तौबा तौबा हुन्छ । चीनले गर्दा कोही पनि बोल्दैन । यतिका वर्ष नाका किन बन्द गरेको, चीनले कारण दिनुपर्छ । बहाना गरेर बाटो रोक्नु राम्रो होइन ।”



प्रतिक्रिया दिनुहोस्