Logo

सेनामा पूर्णचन्द्रले गरेका निर्णय धमाधम उल्टाउँदै प्रभुराम



काठमाडौं, ३० भाद्र । नेपाली सेनामा यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका कतिपय निर्णयहरु अहिलेका प्रधानसेनापति प्रभुराम शर्माले उल्टाउन थालेका छन् । थापाले विगतमा कमाण्ड अवधारणा नै परिवर्तन गरेका थिए ।

१ साउन २०७८ मा ३ जोड १ कमाण्ड अवधारणा लागू गरेका थिए । सो अवधारणालाई उल्टाएर विगतमा रहेका ८ पृतनाहरु पुनःस्थापना गर्ने निर्णय लिएका छन् । पृतनापतिको संरचना अनुसार सहायकरथी प्रमुख हुने व्यवस्था छ ।

सेनाका कार्यरथी विभागका उपरथी सागरबहादुर थापाले सर्कुलर नै जारी गरेर ८ पृतनाहरु पुनःस्थापना गर्ने, पुनस्थापित पृतनाहरुलाई विगतमा प्रदान भइरहेको जिम्मेवारी क्षेत्र अनुसार जिम्मेवारी तोक्ने निर्णयबारे उल्लेख छ ।

यसैगरी, पूर्णचन्द्र थापाका पालमा फाष्ट ट्रयाकको परामर्शदाता छनोट र निर्माण ठेक्काको दुईवटा खण्डको ठेकेदार छनोट विवादमा छ । परामर्शदाता कोरियाली कम्पनी सुसुङलाई बनाइएको थियो । उक्त कम्पनी कालो सूचीमा परेर विवादमा परिसकेको थियो ।

यसैगरी, फाष्ट ट्रयाकको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरु चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन र पोली च्याङ्दा दुवै विवादमा परेका छन् । दुवै निलम्बनमा समेत परिसकेका छन् । चाइना स्टेट त बुटवल नारायणगढ सडकखण्ड अलपत्र पारेर विवादमा छ । निर्माण समयमा पूरा हुनेमा आशंका छ । यसरी विवादास्पद कम्पनीलाई पूर्णचन्द्र थापाका पालामा परामर्शदाता छनोट देखि निर्माणको ठेक्का दिने कदमले समस्या ल्याएपछि सेना तनावमा छ ।

सेनापति प्रभुराम थापा फाष्ट ट्रयाकबारे पनि महत्वपूर्ण निर्णय लिने तयारीमा रहेको बुझिएको छ । उनले यसका लागि फाष्ट ट्रयाक समयमा सक्ने गरी कदम चाल्न निर्देशन दिइसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्