Logo

अव्यवस्थित बस्तीको दीर्घकालीन समाधानमा लागिपरेको छु : नेता सिंह



काठमाडौं, ३० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन । बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताएका हुन । वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने प्रतिवद्धता जनाएका छन् ।

तत्कालीन नेकपाको सरकारले संघीय कानून समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उनको भनाइ छ ।‘अहिले वागमतीको किनारमा बस्तीहरुको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानून बमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ । अव्यवस्थितपूर्ण बस्तीहरुको समाधान गर्नको लागि हामी अघि बढ्छौँ ।’–उनले भने ।

नेता सिंहले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको दाबी गरेका छन । गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने टिप्पणी गरे ।

उनले भने,“स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्, यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले संघीय कानून समयमा नबनाइदिएको कारण आएको हो । अहिले त तपाईंहरुकै सरकार छ भन्नुहोला । झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्रयाकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।”

कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरूले खानेपानी बिधुत सडक टेलिफोन तार लगायत समस्याको उचित व्यवस्थापन गर्न माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्