Logo

विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै



काठमाडौं, ३० भदौ । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो ।

कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुन लागेको हो । गत वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ भएको थियो भने पालिकास्तरमा हुने कक्षा ८ को परीक्षा अधिकांशमा एकै समयमा भए पनि कतिपय पालिकापिच्छे फरक–फरक समयमा हुँदै आएको छ ।

तल्लो तहको परीक्षाको परीक्षाफल प्रकाशनमा ढिलाइ वा अन्न्योल हुँदा माथिल्लो तहको विद्यार्थी भर्नामा अन्योल हुने गरेको छ । कोभिड–१९ पछि शैक्षिकसत्र नै प्रभावित भएको थियो भने आर्थिक वर्ष र शैक्षिकसत्रबीचको समायोजना तथा शैक्षिक तथ्याङ्क र अभिलेखीकरणका लागि तीन तहका सरकारबीच समन्वय हुनसकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हालसम्म विद्यालय तहको शैक्षिक क्यालेण्डर नभएको सन्दर्भमा केही दिनभित्रै उक्त क्यालेण्डर सार्वजनिक गराइने जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको १३औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दाहरु’ विषयक छलफल कार्यक्रममा उनले शिक्षण सुधारका सवालमा तहगतरूपमा तथा कानुनी, भौतिक, शैक्षिकरूपमा काम भइरहेको र आउने सङ्घीय शिक्षा ऐनले शैक्षिक गुणस्तरका सवाल सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे ।

विद्यालय सुधारका क्रममा प्रधानाध्यापक र शिक्षकहरू जिम्मेवार हुनसकेमा मात्रै शिक्षामा सुधार सम्भव हुने उनको भनाइ छ । मन्त्री पौडेलले विद्यालय शिक्षामा शैक्षिक क्यालेण्डर व्यवस्थित नभएको सन्दर्भमा स्थानीय तहसँगको सहकार्यमा क्यालेण्डर जारी गर्ने मन्त्रालयको तयारी गरिएको बताए । मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐनसँगै प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धीसहित अन्य छवटा शैक्षिक विधेयक ल्याउने तयारी गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्