Logo

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूत बेरीको विदाई भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, ३० भदौ । नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी डब्लु. बेरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विदाई भेटवार्ता गरेका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको विदाई भेटमा अध्यक्ष ओलीले राजदूत बेरीको सफल कार्यकालका लागि बधाई तथा धन्यवाद दिएका थिए ।

भेटमा नेपाल र अमेरिकाबीचको मित्रतापूर्ण सम्बन्ध र नेपालको विकासमा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी एमाले नेतृ तथा विदेश विभाग सदस्य लक्की शेर्पाले जानकारी दिईन् । भेटमा अध्यक्ष ओलीले गरिबी निवारण र दिगो विकास लक्ष्य प्राप्तिका सन्दर्भमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ ले केही प्रभावित गरे पनि नेपाल त्यस दिशामा अगाडि बढिरहेको बताएका थिए ।

यस्तै, भेटमा राजदूत बेरीले अध्यक्ष ओलीको नेतृत्वको सरकारका समयमा नेपालको समृद्धि र विकासका कामले गति लिएकोमा प्रशंसा गर्दै आफू अमेरिका फर्केपछि पनि नेपालको विकासमा अमेरिकी सहयोगका लागि सधैं सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त भेटमा अध्यक्ष ओलीका साथमा परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्य, लक्की शेर्पा र राजेश बज्राचार्य सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्