Logo

मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त



काठमाडौं, ३१ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए ।

सोडारी र बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट राज्यमन्त्री बनेका हुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री भट्टको सिफारिसमा उनीहरुलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त राज्यमन्त्रीद्वयलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी हालै एकीकृत समाजवादी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेपछि भौतिक पूर्वाधार राज्यमन्त्रीको पद रिक्त भएको थियो । आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदलाई भने एकीकृत समाजवादीले फिर्ता बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot