Logo

एमाले नेता शेरबहादुर तामाङको प्रतिप्रश्न- सभामुखले ६ महिनासम्म महाभियोगलाई कोमामा राख्न मिल्छ ?



काठमाडौं, १ असोज । नेकपा एमालेका नेता शेरबहादुर तामाङले कानुन निर्माणका दृष्टिले संसद्लाई सफल भएको मान्नुपर्ने बताएका छन् । “संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनु नै संसद्को मुख्य काम थियो । थुप्रै कानुन बने । पुराना कानुन संशोधन भए । महिला हिंसासम्बन्धी निगरानी कानुन बने । नागरिकता, एमसीसीलगायत विषयले केही विवाद भए पनि राम्रा कामलाई छोप्न मिल्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने ।
सांसदहरु त हाजिर गरेर भागेको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले नेता तामाङले भने, “सांसदको मुख्य काम कानुन बनाउने हो । र सांसद भनेको अचम्मको नश्ल पनि होइन, सांसद अलौकिक पनि होइन, उसले खानु पनि पर्छ, सबै कुरा गर्नुपर्छ । सांसद जनताप्रति जवाफदेही हुने कारण निर्वाचन क्षेत्र र मतदातामा गइरहनुपर्छ । दुर्गमका सांसदले एकचोटि जिल्ला ओहोरदोहोर गर्दा लाखौं खर्च हुन्छ । कहिलेकाहीँ कोरम पुग्दैन । यसलाई सामान्य रुपमा लिनुपर्छ ।”
प्रतिनिधिसभाले महाभियोग टुंगो लगाउन नसक्नुमा सत्तापक्ष र सभामुख जिम्मेवार रहेको पनि उनले बताए । तामाङले भने, “सभामुखले महाभियोगलाई ६ महिनासम्म कोमामा राख्न मिल्छ ? सरासर छलफल गर्नुपर्थ्र्यो । पास वा फेल हुन्थ्यो । सभामुखले संसद्को अवधि सकिने बेलामा राजनीतिक स्वार्थका कारण हतार हतार अहिले छलफलमा ल्याए । यसमा सत्तापक्ष र सभामुख नै प्रमुख जिम्मेवार छन् ।”
एमाले नेता तामाङले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अदालत फर्कने सम्भावना बढेको पनि औंल्याए । उनले भने, “उहाँलाई नैतिकताका आधारमा म बिदा बस्छु छाड्छु भन्ने छुट छ । तर सर्वोच्च अदालत जान कुनै कानुनले रोक्दैन ।”



प्रतिक्रिया दिनुहोस्