Logo

नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने हो : ओली



काठमाडौं, १ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास र विकासको अभियानलाई हार्न नदिने बताए ।

उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए । उनले संविधान दिवसलाई जनताको दिवस मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमालेले देशलाई अगाडि बढाउने बताए ।

उनले सङ्घर्ष र बलिदानबाट लामो यात्रा पार गरेर संविधान कार्यान्वयन भइरहेको उल्लेख गर्दै नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरिएको आरोप लगाए। “नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए । नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ”, उनले भने ।

अध्यक्ष ओलीले नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने हो भने । “नेपाल, हामी नेपालीको हो भन्ने भावनाका साथ हामी अगाडि बढेका छौँ”, उनले भने । सो पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको थियो । पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्षनेताको सहभागी रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्