Logo

पुटिनलाई वाइडेनको चेतावनीसँगै आणविक युद्धको खतरा बढ्यो, कोसँग कति आणविक हतियार



एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली नै परिवर्तन भई दोस्रो विश्वयुद्धपछिको खतरनाक अवस्थाको चेतावनी दिए । योसँगै विश्वमा आणविक युद्धको खतरा बढेको संकेतहरु मिल्न थालेको छ ।

पुटिनले आणविक फौजलाई विशेष सतर्क अवस्थामा राखेका छन् । कुनैपनि बेला आणविक हतियार प्रयोगको अवस्था राखिएको छ ।

झण्डै ८० वर्षयता विश्वमा आणविक हतियार बढिरहेको छ । शक्तिशाली राष्ट्रहरुबीच आणविक हतियारको प्रतिष्पर्धा छ । कतिपय महत्वाकांक्षी देशहरुले पनि आणविक हतियार प्राप्त गर्ने रणनीतिका साथ काम गरिरहेका छन् ।

फेडरेशन अफ अमेरिकी साइन्टिस्टको अनुमान अनुसार विश्वमा सबैभन्दा बढी आणविक हतियार रुससँग छ । रुससँग ५९७७ आणविक हतियार रहेको अनुमान छ । रुससँग नै सँसारकै सर्वाधिक शक्तिशाली आणविक हतियार रहेको बताइन्छ ।

अमेरिकासँग ५४२८, फ्रान्ससँग २९०, बेलायतसँग २२५ आणविक हतियार रहेको अनुमान छ । चीनसँग ३५०, पाकिस्तानसँग १६५, भारतसँग १६०, इजरायलसँग ९०, उत्तर कोरियासँग २० आणविक हतियार रहेको फेडरेशन अफ अमेरिकी साइन्टिष्टको अनुमानित तथ्यांक छ ।

रुससँग ६ हजारभन्दा बढी आणविक हतियार रहेको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्यांक छ । यो विश्वमा रहेको कुल आणविक अस्त्रको आधा हो । रुसपछि अमेरिकासँग साँढे ५ हजार, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ५० आणविक हतियार रहेको तथ्यांक छ ।

विश्वकै शक्तिशाली आणविक हतियार रुससँग रहेको उल्लेख छ । रुसले सन् १९६० को दशकमा परीक्षण गरेको जार बमभन्दा दोब्बर शक्तिशाली आणविक हतियार विकास गरेको सूचनाहरु खुलेका थिए । सन् २०१५ मा रुसले १०० मेगाटनको आणविक बम विकास गरेको उल्लेख छ । जार बमको परीक्षण हुँदा १००० किलोमिटरसम्म असर गरेको थियो । झण्डै सय किलोमिटर क्षेत्र ध्वस्त भएका थिए । जार बमभन्दा दोब्बर शक्तिशाली बलमे २००० किलोमिटरभन्दा बढी क्षेत्र ध्वस्त पार्ने अनुमान गरिएको छ । पुटिनको हातमा यति खतरनाक हतियारको बटन छन् ।



प्रतिक्रिया दिनुहोस्