Logo

एकै परिवारका आठजना सहित अछाममा पहिरोमा पुरिएर २१ को मृत्यु



धनगढी असोज २ । सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।

अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

यसैगरी अछामकै कमलबजार–८ डुङ्लाका खिउरे दमाईको घरमा पहिरो खस्दा परिवारका पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। परिवारका मूली खिउरे घाइते भएका छन्।

त्यस्तै अछामको तुर्माखाँदा गाउँपालिका–५ नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा आठजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ।

जिल्लाकै ढकारी गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा दुई वर्षीय नवीन बुढाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

यता अविरल वर्षाका कारण आएको बाढीले बगाएर कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ।

बाढीले कैलाली र कञ्चनपुरमा १ हजारभन्दा बढी घर डुबानमा पर्नुका साथै सयौं परिवार विस्थापित भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot