Logo

सत्ता नै अन्तिम सत्य हो भनेर सिद्धान्तविहीन गठबन्धन गर्नेले मुलुक बनाउँदैनन्ः प्रदीप ज्ञवाली



काठमाडौं, ३ असोज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्ष वा विपक्षमा नउभिएको दाबी गरेका छन् ।
“नेकपा एमाले कसैको पक्षमा पनि उभिएको छैन, विपक्षमा पनि उभिएको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगमाथिको छानबिन नै पूरा हुन पाएन । ६ महिनासम्म महाभियोगलाई गुन्द्रीमुनि लुकाएर राखियो । अहिले न छानबिन पूरा भयो, न संसद्ले नै टुंगो लगायो । महाभियोगको दुराशयपूर्वक दुरुपयोग भयो । खास खास मुद्दाको फैसला रोक्न न्यायालयलाई कार्यकारीको छाया बनाउने प्रयास भयो । शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिकाको विपरीत काम भयो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने ।
उनले संसद्लाई थाहा नदिईकन अदालतबाट सरकार बनाएको आरोप पनि सत्ता गठबन्धनमाथि लगाए । ज्ञवालीले थपे, “यहाँ चुनावमा जाने कुरालाई प्रतिगमन भन्ने गलत भाष्य स्थापना गर्न खोजिएको छ । सरकार बनाउने निर्णायक शक्ति जनता हुन् । जनतामा जान्छु भन्नु कसरी प्रतिगमन हुन्छ ? गठबन्धनले संसद्लाई थाहा नदिईकन अदालतबाट सरकार बनायो ।”
संविधान कार्यान्वयनका सन्दर्भमा धेरै काम भएको दाबी पनि उनले गरे । ज्ञवालीले भने, “मौलिक हकसम्बन्धी महत्त्वपूर्ण कानुन बनेका छन् । संघीयता क्रियाशील भएको छ । राजनीतिक दलहरुको गलत क्रियाकलापले कहिलेकाहीँ समस्या आए पनि नेपालको राजनीतिक प्रणालीको अन्योल हट्दै गएको छ ।”
प्रदेश सरकारलाई मितव्ययी र छिटोछरितो बनाउने भन्दा प्रदेश सभा विघटन हुने दिन अघिल्लो दिन समेत मन्त्री बनाउने प्रचलनले जनतामा संघीयताप्रतिको विश्वास धरमराएको पनि उनले बताए । ज्ञवालीले भने, “सत्ता नै अन्तिम सत्य हो भनेर सिद्धान्तविहीन गठबन्धन गरेका छन् । यसले मुलुकलाई घाटा लाग्छ ।”
छोटो समयमै लोकप्रिय बनेको नेपाली नेटवर्क रेडियोलाई उनले बधाई पनि दिए । उनले थपे, “जनतालाई सुसूचित गराउने र विभिन्न व्यक्तिका विचार र धारणा जनसमक्ष लैजाने काममा एनआरएन रेडियो सफल भएको छ । ग्रामीण क्षेत्रमा जाँदा यो रेडियो धेरै सुनिएको छ । छोटो समयमै लोकप्रिय बनाउन सक्नु ठूलो कुरा हो ।”



प्रतिक्रिया दिनुहोस्