Logo

चार राउण्ड गोलीको सामना गरेका मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु (भिडियोसहित)



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली प्रहार गरेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले लाल मोहम्मद भन्ने मोहम्मद दर्जीमाथि गोली हानेका थिए ।

उनी व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा सवार थिए । उनलाई फलो गर्दै मोटरसाइकलमा आएका दुई जनाले गाडीबाट झरेर गार्मेन्ट (निवास पनि सोही स्थान) तर्फ जाने क्रममा एक्कासि गोली प्रहार भएको थियो । गाडी उनका चालकले चलाएको बताइएको छ । सुरुमा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको र त्यसपछि एक राउण्ड हवाइ फायर भएको थियो ।

गोली लागेर ढलेपछि अपराधीले पेस्तोलको बटले टाउकोमा समेत हानेका थिए । गोली चलेको आवाज सुनेपछि मृतककी छोरीसहितका स्थानीयले हल्लाखल्ला गरेपछि पेस्तोल छाडेर अपराधी भागेका थिए । प्रहरीले गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ ।

पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। दुई जनाले‍ गोली चलाएको खुलेको छ।



प्रतिक्रिया दिनुहोस्