Logo

एमाले, नेमकिपा र राप्रपालाई सहज यी सिट गठबन्धनका कुन–कुन दलले लेलान् ?



काठमाडौं, ४ असोज । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि सत्ता गठबन्धन पुनः सिट बाँडफाँटको रस्साकसीमा लागेको छ । तर पाँच दलीय गठबन्धनमै जाँदा पनि संघका १६५ वटै क्षेत्र जित्ने अवस्था छैन । अन्य दलहरुसँग तालमेल हुन नसकेको अवस्थामा पनि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी केही सिटमा एक्लै बलिया देखिएका छन् ।
एमालेको निर्वाचन विभागले पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा पार्टीले एक्लै लड्दा पनि १० सिट सहजै जित्ने निष्कर्ष निकालिसकेको छ । भक्तपुर-१ त नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अभेद्य किल्ला नै हो । स्थानीय तह निर्वाचनको परिणामले पनि त्यो देखाएको छ ।
सबैभन्दा पहिले कुरा गरौं, भक्तपुर-१ को । २०४८ यताका ६ वटै निर्वाचनमा फराकिलो मतान्तरले नेमकिपाले जित्दै आएको यो क्षेत्रमा गठबन्धनका कुनै पनि दलको दाबी छैन । यो क्षेत्र कुन दलको भागमा पर्छ, उसलाई सीधै घाटा लाग्न भएकाले सकेसम्म टिकट पन्छाउने कसरतमा गठबन्धन दलहरु लाग्ने देखिएको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले २०४८, २०५१, २०५६ र २०६४ मा जितेको यो क्षेत्रबाट २०७० र २०७४ मा प्रेम सुवाल सांसद चुनिए । गत स्थानीय तह निर्वाचनमा पनि नेमकिपा एक्लैले ५० प्रतिशत मत प्राप्त गरेको छ । मतअनुसार नेमकिपाको ३३ हजार ८ सय ९५, एमालेको १४ हजार १ सय १९, नेपाली कांग्रेसको १३ हजार १३ मत, राप्रपाको ६ हजार २ सय ८६ र माओवादी केन्द्रको १ हजार ३ सय ८८ मत छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागको आँकडाअनुसार काठमाडौं-५ मा पनि गठबन्धन दलहरु पस्न हिचकिचाइरहेका छन् । २०७४ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित काठमाडौं-५ मा स्थानीय तहको मत परिणाम अनुसार एमाले एक्लैको १९ हजार ७ सय ३ मत छ भने पाँच दलीय गठबन्धनको मत १७ हजार ९ सय ६ मात्र छ । यस हिसाबमा गठबन्धनभन्दा एमाले १,७९७ मतले अगाडि छ । गठबन्धन भए पनि एमालेलाई जित्न कठिन भएकाले अघिल्लो निर्वाचनमा पोखरेलका प्रत्यासी रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नै समानुपातिक बन्दसूचीमा पसेका छन् ।
गठबन्धनलाई फलामे चिउरा ठानिएको अर्को क्षेत्र हो, चितवन-२ । स्थानीय तहको मत परिणाम अनुसार चितवन-२ मा एमालेको ३५ हजार ५ सय ४३ र गठबन्धनको ३५ हजार ५ सय ३२ मत छ । जम्मा ११ मतले अगाडि रहेको त्यस क्षेत्रलाई नेकपा एमाले सुरक्षित मानेको छ । त्यस क्षेत्रमा अघिल्लो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए ।
पाँच दलीय गठबन्धन हिचकिचाइरहेको अर्को क्षेत्र हो, पाल्पा-१ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पा-१ मा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७७१ मत पाएका छन् भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २७ हजार १५० र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले १ हजार १६४ मत पाएका छन् ।
झापाका पाँच निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले तीन निर्वाचन क्षेत्रमा अगाडि छ । झापा-१ मा हालै सम्पन्न स्थानीय तह निर्वाचन परिणाम अनुसार एमाले गठबन्धनभन्दा २ हजार १६ मतले अगाडि छ । एमालेको ३१ हजार २ सय ३२ मत छ भने पाँच दलीय गठबन्धनको मत २९ हजार २ सय १६ मत मात्र आएको छ । यसअघि वाम गठबन्धनका तर्फबाट राम कार्की विजयी भएका थिए ।
यसैगरी, झापा–२ मा पनि एमाले गठबन्धनभन्दा ६०८ मतले अगाडि छ । त्यहाँ २०७४ मा एमालेकी पवित्रा खरेल निरौला विजयी भएकी थिइन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको झापा-३ मा पनि एमाले-राप्रपा तालमेलका कारण गठबन्धनलाई भारी पर्नेछ ।
गठबन्धनभन्दा एमाले ६ हजार ८ सय २१ मतले अगाडि रहेको झापा-५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली राष्ट्रिय व्यक्तित्व, पूर्वप्रधानमन्त्री एवं जित्दै आएका क्षेत्र भएकाले गठबन्धनलाई नै भरोसा छैन । स्थानीय तह निर्वाचनको वडागत मतका आधारमा झापा-५ मा एमालेको ४१ हजार ६ सय १९, कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७ सय ८८, राप्रपाको ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीको १ हजार ९ सय ८८ मत छ । एमाले र राप्रपाबीच तालमेल भएको स्थितिमा गठबन्धन अप्ठ्यारोमा पर्छ । एमाले–राप्रपा तालमेल भए ४९ हजार ९ सय ७० मत उनको पक्षमा हुने देखिन्छ भने पाँच दलीय गठबन्धनसँग ३६ हजार मत मात्र ।
दाङ–२ पनि गठबन्धनले लगभग हापेको क्षेत्र हो । पाँच दलीय गठबन्धनका बाबजुद नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले यस क्षेत्रमा आँट गरेनन् । उनी पार्टीले ३ असोजमा बुझाएको समानुपातिक सूचीमा बसेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल लड्ने चर्चा गरिएको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूको मत ३३ हजार ५९३ मत छ भने नेपाली कांग्रेसको २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरूको १० हजार ४७८ मत र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूले २ हजार ९४२ मत पाएका छन् ।
स्थानीय तहको मत परिणमाअनुसार नवलपुर–२ र पर्वतमा एमालेलाई सुरक्षित मानिएको छ । नवलपुर-२ मा एमाले गठबन्धनभन्दा ९ सय २० र पर्वतमा ४ सय ६५ मतले अगाडि छ । भक्तपुर–२, सिन्धुपाल्चोक–२, मकवानपुर १, रौतहट–३, धनुषा–४, सिरहा–३, गुल्मी–२, रुपन्देही–२, दैलेख–२, सुर्खेत–२, दार्चुला, बाजुरा, मनाङ र मुस्ताङमा पनि एमालेको मत बढी देखिएको छ ।
यी निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनका कुन-कुन दलले लिन्छन् भन्ने थाहा पाउन भने असोज २३ सम्म कुर्नुको विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्