Logo

राष्ट्रपतिको कदममा एमालेलाई जोड्न मिल्दैनः शेरबहादुर तामाङ



काठमाडौं, ५ असोज । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको दाबी गरेका छन् ।
“राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई संवैधानिक वा असंवैधानिक भनेर व्याख्या गर्नु आवश्यक छैन । संविधानको कहीं उल्लंघन भएको छैन । संविधानको कुनै दफा, धाराले पनि त्यसो भन्दैन । उहाँले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व लिनुभएको हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने ।
राष्ट्रपतिले संशोधन गरेर ल्याऊ भन्दा सत्तारुढ गठबन्धनले कमा, फुलिस्टेप पनि चेन्ज गर्दैनौं भनेर धम्काएको आरोप पनि उनले लगाए । तामाङले राष्ट्रपतिलाई एमालेले कुनै आदेश नदिएको पनि स्पष्टीकरण दिए । उनले थपे, “यस प्रकरणमा एमाले कतै पनि जोडिँदैन । संसद्मा एमालेले नागरिकता विधेयक अस्वीकार गरेकै हो । नागरिकता विधेयक ठीक छैन, भनेर विपक्षमा मतदान गरेकै हो । तर कुनै पनि दलले राष्ट्रपतिलाई यही निर्णय गर्नुपर्छ भनेर निर्देशन दिने कुरा हुँदैन । उहाँलाई राजनीतिक दलको आदेश चाहिँदैन । दलले गरेको निर्णय मान्नु पनि पर्दैन ।”
पूर्व कानुनमन्त्री समेत रहेका तामाङले राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक स्वतः निष्क्रिय भएको पनि बताए । राष्ट्रपति र सरकारको द्वन्द्वका कारण कतै चुनाव त सर्ने होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “चुनाव सर्दैन । सर्न दिनु पनि हुँदैन । अब नागरिकता विधेयक संसदबाट फेरि नयाँ स्वरुपमा ल्याउनुपर्ने हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्