Logo

बुढी मरी भन्दा पनि काल पल्कने चिन्ता भोः मनीष सुमन



काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टीका नेता मनीष सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल राजीनामा गर्नुपर्ने बताएका छन् । “संसद् जीवितै भएको भए राष्ट्रपतिलाई महाभियोग लाग्थ्यो । अब हामी राजीनामा गरेर मार्गप्रशस्त गर्नुस् मात्र भन्न सक्छौं । हाम्रो चिन्ता बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने हो । यो राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई ‘कू’  गरेजस्तै हो, निर्वाचन टार्ने षड्यन्त्र हो । उहाँले एमाले कार्यकर्ताजस्तो व्यवहार देखाउनुभएको छ । मुलुकको राष्ट्रपति संविधानबाट बाँधिएको हुन्छ । संविधानले जे भन्यो, त्यही गर्नुपर्छ । संविधान नै नमान्ने, दुराशय राख्ने र पदअनुकूल काम नगर्ने हो भने राजीनामा नै एकमात्र विकल्प हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
संविधानको धारा ११३ मा संसद्ले पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ भन्नेबारेमा मौन रहेको पनि उनले औंल्याए । सुमनले थपे, “संविधान नै त्रुटिपूर्ण छ । संसद्ले पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ भन्ने लेखेको छैन । सवाल वैवाहिक अंगीकृतका निम्ति मात्र होइन, ८ लाख युवाहरुको भविष्य पनि हो ।”
राष्ट्रपतिको कदम घनघोर संविधानविरोधी भएको पनि जसपा नेता सुमनले बताए । उनले भने, “मुलुकको पहिलो नागरिकले नै संविधानको पालना नगर्नु घोर आपत्तिजनक छ । एमालेको सरकारले त्यही अध्यादेश ल्याउँदा दुईतीन घण्टामा ल्याप्चे लगाउने अनि दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने बेला संसद् छ कि छैन भन्नु महाकुतर्क हो ।”
अब चुनाव सर्ने अवस्था आयो होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “चुनाव सुरु भइसक्यो । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसक्यो । १ करोड ८० लाख मतदाता चुनाव पर्खिरहेका छन् । यस्ता झीनामसिना प्रयासबाट चुनाव बिथोलिँदैन ।”
गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाले त राष्ट्रपतिको कदमको समर्थन गरेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, “चित्रबहादुर केसीको पार्टी सत्तापक्षीय गठबन्धनमा छैन, पाँच दलीय गठबन्धनमा मात्र छ । नागरिकतामा उसको पहिलेदेखि नै फरक मत थियो र छ ।”



प्रतिक्रिया दिनुहोस्