Logo

विद्यादेवी भण्डारी एमालेको ‘डिफ्याक्टो प्रेसिडेन्ट’ भएजस्तो लाग्योः रामनारायण बिडारी



काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानमाथि पटकपटक बलात्कार गर्न उद्यत रहेको आरोप लगाएका छन् ।
“राष्ट्रपतिले संविधान मिच्नुभयो, बेइमानी गर्नुभयो, नेपाली नागरिकमाथि अपराध गर्नुभयो । नेपालीले जनताले लामो बलिदानीपछि प्राप्त गरेको संविधानमाथि पटकपटक बलात्कार गर्न खोज्नुभयो । धिक्कार छ राष्ट्रपतिलाई । एमाले डिफ्याक्टो प्रेसिडेन्ट विद्यादेवी भण्डारी भएजस्तो लाग्यो । गणतन्त्रको नारामा घिसारिएर तानिएर सामेल केपीओली र ओलीका गुटले मात्र संविधान मिचिएको छैन भन्न सक्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिडारीले भने ।
नागरिकता विधेयक राष्ट्रघाती नभएको उनको जिकिर छ । बिडारीले थपे, “म टुँडिखेलमा उभिएर भन्न सक्छु- म पनि राष्ट्रवादी हुँ । नागरिकता विधेयक राष्ट्रघाती छैन । विद्यादेवी भण्डारी मनपरेको पार्टी र नेताले ल्याए राष्ट्रवादी, मन नपरेको पार्टी र नेताले ल्याए राष्ट्रघाती कसरी हुन्छ ? अहिले जे कुरा प्रचार गरिएको छ, त्यो विधेयकमा छैन । हुँदै नभएको, गर्दै नगरेको कुरा प्रचार गरिएको छ । २०४७, २०६३ को संविधानमा जे व्यवस्था थियो, त्यही छ । २०७५ मा ओलीले ल्याएको विधेयक अनि २०७८ मा ल्याएको अध्यादेश र अहिलेको विधेयकमा के फरक छ ? झुटा र बेइमान कुरा किन गरेको ? आमा नेपाली, बाबु पनि नेपाली अनि तिनका छोराछोरी नेपाली हुन्छ कि हुँदैन ?”
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गर्नुपर्ने पनि उनले औंल्याए । बिडारीले भने, “राष्ट्रपतिले मनपरेको मान्छे आए नियुक्ति गर्दिनुहुन्छ, मन नपरे गरिदिनुहुन्न । पहिले यही नागरिकता अध्यादेश जारी गरेको होइन ? अब सर्वोच्च अदालतले राष्ट्रपतिका नाममा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश जारी गर्नुपर्छ ।”
जनताको खुन पसिनामा बस्ने राष्ट्रपतिले कू गर्न खोजेको आरोप पनि बिडारीले लगाए । उनले थपे, “संसद् भएको भए यस्ता हठी राष्ट्रपतिलाई घोक्राएर, गलहत्याएर निकाल्थ्यो । जनताको खुन पसिना खानेलाई ३५ वर्षको युवकको आँसुको श्राप लाग्दैन ? उनले राष्ट्रपतिबाट राजीनामाको आशै नगरेको पनि बताए । उनले भने, ओलीलाई हटाउन कति गाह्रो भयो ? पाएदेखि आजीवन खान्छु भनेर बसेका थिए । राष्ट्रपति पनि कू गर्छु भनेर बसेकी छन् । तिनले राजीनामा दिने आशै छैन ।”
अर्को प्रसंगमा उनले गठबन्धनका कारण टिकटमा आफूलाई समस्या परेको पनि बताए । बिडारीले भने, “मकवानपुरमा गठबन्धनको बारेमा मेरो डिस्एग्री छ । म त्यही ठाउँको मानिस हुँ । कोही पाँचपाँच पटक लड्ने, म एकपटक पनि लड्न नपाउने ?”



प्रतिक्रिया दिनुहोस्