Logo

राजु श्रीवास्तवको सपना अधुरै रह्यो



एजेन्सी, ६ असोज । भारतीय हास्यँकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघात हुनुअघि राजुको एउटा सपना थियो, जुन पूरा गर्नुअघि नै उनले संसारलाई बिदा गरे । यो खुलासा गर्दै राजुका नजिकका एकजनाले भने कि उनी आफ्नो स्ट्यान्ड अप कमेडी शो ओटीटी प्लेटफर्ममा ल्याउने तयारीमा थिए । यो शो सुरु भएको भए उनी यस शोको निर्माता हुने थिए ।

राजुका एक नजिकका सहयोगीले भने, ’उनी आफ्नो शोलाई कुनै ठूलो ओटीटी प्लेटफर्ममा स्ट्रिम गर्न चाहन्थे। देश भरका उदीयमान हाँस्य कलाकारहरुले आफू मार्फत मञ्च पाउन सकून् भनेर उनले यो कार्यक्रमको योजना बनाएका हुन् । उनी चलचित्र र लामो आउटडोर कार्यक्रमको पक्षमा थिएनन्। निर्माताको हैसियतमा आफ्नो शोको योजनाबारे पनि साथीहरूसँग छलफल गरेको भारतीय समााचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । आफ्नो योजना अगाडि बढाउनुअघि नै उनलाई अगस्ट १० मा हृदयघात भयो।

राजुको निधनले सिंगो देश शोकमा डुबेको छ । सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर राजुको निधनमा उद्योगका धेरै व्यक्तिले शोक व्यक्त गरेका छन् । जहाँ कपिलले राजुसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘आज पहिलोपटक तपाईंले मलाई रुवाउनुभएको छ, राजु भाइ, काश अर्को भेट हुन्थ्यो । भगवानले तपाईलाई आफ्नो चरणमा स्थान दिउन। तपाईलाई धेरै मिस गरिनेछ। अलविदा..ओम शान्ति।’
अर्कोतर्फ सुनील ग्रोवरले राजुको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘राजु श्रीवास्तव जी, तपाईको आत्माले शान्ति पाओस् । उहाँले सिंगो देशलाई हँसाए । उहाँले हामीलाई चाँडै छोड्नु भएकोमा धेरै दुःख लागेको छ। तपाईको सम्पूर्ण परिवारलाई मेरो समवेदना।’

अगस्ट १० मा जिममा व्यायाम गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । त्यसपछि उनलाई ४२ दिनसम्म दिल्लीको एम्समा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको अवस्था स्थिर रहेपनि हिजो अचानक उनको अवस्था बिग्रिएको हो । राजुको शव हिजो द्वारका नजिकैको दशरथपुरी लगिएको थियो । उनको आज दिल्लीको निगमबोध घाटमा अन्तिम संस्कार गरिने छ ।



प्रतिक्रिया दिनुहोस्