Logo

पञ्चे बाजामा महिला अग्रसर



काठमाडौँ,६ असोज । रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् ।

स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताइन् ।

यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताइन् । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार–पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाए ।

शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताइन् । समाजमा महिलाले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उनले बताइन् ।

पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताइन् । युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताइन् ।

वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि रु दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्