Logo

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी



काठमाडौँ,६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन् ।

मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भई काम गर्न आग्रह गरिन् । उनले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । मन्त्री रेग्मीले मुलुक सङ्घीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

परिषद्बाट गरिने सेवालाई सहज र छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् । परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरुप परियोजना सञ्चालन गर्नेगरी सङ्घ संस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुआत गरिएको उनले जानकारी दिइन् ।

‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेसी समाज निर्माणमा सङ्घ संस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले मुलुकको सर्वाङ्गीण विकासमा सामाजिक शक्ति परिचालन गरी सरकारको प्राथमिक लक्ष्य हासिल गर्न गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने बताइन् ।

उनले एकद्वारा सूचना प्रणालीको विकास गर्दै प्रभावकारी अनुगमन सुशासन कायर्म गर्न सरोकारवाला संस्था गम्भीर हुनुपर्ने बताइन् । सचिव शर्माले नीतिगत कानुनी र संरचनागत सुधार गरी गैरसरकारी संस्थाको कार्यक्षमतालाई व्यवस्थिजत र पारदर्शी बनाइनुपर्नेमा जोड दिइन् ।

परिषद्का सदस्यसचिव मनोज भट्टले नेपाल सरकारको विकास अभियानलाई साकार तुल्याउन गैरसरकारी संस्थामार्फत हुने लगानी÷भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा सुनिश्चित गर्न परिषद् लागि परेको जानकारी दिइन् । उनले गैरसरकारी संस्थाका काम स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा गर्ने, कामलाई निष्पक्ष, पारदर्शी र जवाफदेही बनाई एकद्वारा नीतिअनुरुप व्यवस्थित बनाइने बताइन् ।

दिवसका अवसरमा भृकुटीमण्डपमा एक दिवसीय प्रदर्शनी आयोजना गरिएको छ । एक सय प्रदर्शनी कक्षमा सामाजिक संस्थाले समाजमा गरेका विकास र उत्पादन सामग्रीको ‘डेमो’ प्रदर्शन गरिएको छ । तिलगङ्गा आखा अस्पतालले पनि आँखा दान महादान अभियान सुरु गरेको छ । उक्त प्रदर्शनी कक्षको प्रधानमन्त्री देउवाले उद्घाटन गरे । सोही अवसरमा प्रधानमन्त्री देउवाले समाजकल्याण परिषद्को ‘डिजिटल पोर्टल’ शुभारम्भ गरे । परिषद्ले अनलाइनबाट सेवा प्रर्वाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोर्टलमार्फत अनलाइनबाट गैरसरकारी संस्था दर्ता, नवीकरण र कार्यालयका सबै कागजात अभिलेख राखिने जनाइएको छ ।

आर्थिक वर्ष २०७८र७९ को अन्तसम्म परिषद्मा आवद्ध कूल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ वटा रहेका छन् भने दुई सय हाराहारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् । रासस



प्रतिक्रिया दिनुहोस्