Logo

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको रिटको पनि आजै सुनुवाइ



काठमाडौं, असोज ७। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले सो रिट दायर गरेका हुन् ।

संसद्को अवधि समाप्त भइसकेपछि सभामुख र उपसभामुख पद पनि स्वतः रिक्त हुने जिकिर रिट निवेदनमा गरिएको छ ।

निवेदनमा प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै सभामुख र उपसभामुखको पद पनि खाली हुनुपर्ने माग गरिएको छ ।

बिहीबार परेको रिटमाथि आज सुनुवाइका लागि पेसी तोकिइसकेको छ। अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका थिए।

संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने दाबी रिटमा गरिएको छ।

रिटमा दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनी अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।

सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत, साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु संविधान विपरीत भएको रिटमा उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमा पनि आजै सुनुवाइ हुनेछ।



प्रतिक्रिया दिनुहोस्