Logo

एमालेले आश्चर्यजनक तरिकाले बहुमत ल्याउँछः विशाल भट्टराई



काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको शक्तिबाट आतंकित भएर नेपाली कांग्रेस सत्तारुढ गठबन्धनबाहेकका दलहरुलाई समेत मिलाउन लागिरहेको आरोप लगाएका छन् ।
“नेकपा एमाले बलियो र सशक्त देशभित्र र बाह्य शक्तिलाई थाहा छ । उनीहरुको दबाबका कारण नेपाली कांग्रेस बाँकी रहेका पार्टीलाई पनि गठबन्धनमा मिसाउन लागिरहेको छ । कांग्रेसले ७०-८० सिट लिँदै छ रे । त्यसमा पनि लोसपालाई पनि आफ्नै सिटबाट दिन्छु भनिरहेको छ । तर एमाले आधारभूत रुपमा एक्लै लड्छ र आश्चर्यजनक तरिकाले बहुमत ल्याउँछ । गठबन्धनको सपना चकनाचुर हुन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
लोसपा र राप्रपासँग त एमालेले गठबन्धन गर्दै छैन र भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, “मंसिर ४ मा हुने संघीय र प्रदेशमा निर्वाचनमा औपचारिक रुपमा गठबन्धन हुँदैन । स्थानीय स्तरमा केही सिटमा तालमेल हुन सक्छ । धेरै समय अघिदेखि लोसपा हामीसँग संवादमै थियो । हामीले उसलाई उपसभामुखमा उम्मेदवार उठाउनुस् भन्यौं । मानेको पनि थियो । तर बैठक बसिरहँदा हिन्दीमा फोन आयो र गठबन्धनलाई सघाउन तयार भयो । हाम्रो निर्णयले मात्र नहुने रहेछ ।”
अर्को प्रसंगमा एमाले नेता भट्टराईले राष्ट्रलाई अहित हुन्छ भन्ने लागेपछि राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु स्वाभाविक भएको टिप्पणी गरे । उनले भने, “राष्ट्रपति भनेको देशको साझा व्यक्ति हो । नागरिकता विधेयकले राष्ट्रलाई अहित हुन्छ भन्ने लागेपछि राष्ट्रपतिले विधेयक रोक्नु स्वाभाविकै हो । राष्ट्रपतिले १५ बुँदा राखेर पुनर्विचार गर्नुस् भन्दा जस्ताको तस्तै पठाइयो । नागरिकता विधेयक राष्ट्रघाती छ । विदेशी ह्वारह्वारी आउने नागरिकता बनाउने हो भने आदिवासी मधेसी नै अल्पमतमा पर्छन् ।”
चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको नयाँ सुरक्षा अवधारणा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) को भर्चुअल बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकारकै परामर्शमा सहभागी भएको पनि उनले दाबी थरे । भट्टराईले भने, “नेपाल असंलग्न नीतिमा विश्वास गर्छ । यसको अर्थ कुनै देशसँग ढल्किने वा टाढिने होइन । तटस्थ नीति लिने हो । राष्ट्रपतिले सरकारको परामर्शमै भाग लिनुभएको हो ।”



प्रतिक्रिया दिनुहोस्