Logo

राष्ट्रपतिलाई कांग्रेस सहमहामन्त्रीको प्रश्नः “केपी ओलीले भनेको मान्ने कि संविधानले भनेको मान्ने ?”



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि संविधानलाई धुजाधुजा पार्ने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । “विद्यादेवी भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्रको कसम खाएर राष्ट्रपति बन्नुभएको हो । उहाँले संविधानमा तोकिए अनुसार कुनै पनि विधेयक पहिलो पटक सुझावसहित फिर्ता पठाउन सक्नुहुन्छ । तर दोस्रो पटक गएपछि १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्थ्र्यो । तर उहाँले संविधानलाई धुजाधुजा पार्ने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गर्नुभयो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्सुरले भने ।
राष्ट्रपति भण्डारीले सरकार, प्रधानमन्त्री, पाँच दलीय गठबन्धन, मधेसी, नागरिकसँग जोरी खोज्न गर्न नसुहाउने उनको टिप्पणी छ । मन्सुरले भने, “राष्ट्रपतिले केपी ओलीले भनेको मान्ने कि संविधानले भनेको मान्ने ? उहाँले ओलीको सल्लाह मान्ने होइन, सरकारको सल्लाह मान्ने हो । उहाँले केपी ओलीका लागि सहज काम गर्नुभएको छ । पाँच दलसँग जोरी खोज्ने काम केपी ओलीको हो । राष्ट्रपतिले सरकार, प्रधानमन्त्री, पाँच दलीय गठबन्धन, मधेसी, नागरिकसँग जोरी खोज्न सुहाउँदैन । ओलीको काम राष्ट्रपतिले गर्ने ?”
कांग्रेस सहमहामन्त्री मन्सुरले सत्ता गठबन्धनले नभएर एमालेले चुनाव भाँड्न चाहिरहेको आरोप पनि लगाए । उनले थपे, “जुवामा दाउ पर्नेले हल्ला नहोस्, बत्ती नभिभोस्, झगडा नहोस् भन्छ । तर दाउ नपर्नेले हल्ला होस्, बत्ती निभोस्, झगडा होस् भन्छ । राष्ट्रपतिको कदम केपीको चाहना भएको छ । चुनाव भाँड्ने विभिन्न षड्यन्त्रमध्ये यो पनि एउटा हो । राष्ट्रपतिको सल्लाहकार नेपाल सरकार हो । तर उहाँ बाहिरी चाहनामा कदम चालिरहनुभएको छ । राष्ट्रपतिको क्रियाकलाप लोकतान्त्रिक पद्धतिका निम्ति घातक छ । हामी संवैधानिक बाटोबाट समाधान खोज्छौं ।”
तपाईं प्रत्यक्ष छाडेर समानुपातिकमा बस्नुभयो नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा मन्सुरले भने, “नेपाली कांग्रेस अहिले गठबन्धनका दलहरुलाई साथमा लिएर चुनावमा जाने पक्षमा छ । सबैलाई मिलाएर लानुपर्ने जिम्मेवारी भएकाले कांग्रेसका साथीहरुले धेरै ठाउँमा सिट पाउने अवस्था छैन । मैले पहिले बारा ३ बाटै जितेको हुँ । अहिले पनि कांग्रेसको अनुकूल अवस्था छ । तर पार्टीको निर्णयमा मैले अर्घेलो गर्न मिल्दैन । अघिल्लो चुनावमा जसपाका साथीले जित्नुभएको थियो । त्यसैले म समानुपातिकमा बस्नुपर्ने अवस्था आयो ।” गठबन्धनको सिट भागबन्डा छिटोभन्दा छिटो टुंगो लाग्ने विश्वास पनि उनले व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्