Logo

यसकारण प्रदेश सभाको बलियो उम्मेदवार चाम थापा



काठमाडौं, ७ असोज । तनहुँको प्रदेश क्षेत्र २(ख)मा नेपाली कांग्रेसका तर्फबाट मगर समुदायबाट उम्मेदवारीको चर्चा चलिरहँदा कसले टिकट पाउला भन्ने आँकलन भइरहेको छ ।

कांग्रेसले गठबन्धनको साथमा चुनाव लड्ने तयारी गरेको क्षेत्र २ अन्र्तगतको सो प्रदेश क्षेत्रमा मगर समुदायको बाहुल्यता छ । यस्तोमा पार्टी जिल्ला सभापति जीतप्रकाश आले र महाधिवेशन प्रतिनिधि चामबहादुर थापाको नाम चर्चामा छ ।

जिल्ला सभापति आले यस अघि नै प्रतिनिधि सभा सदस्यमा चुनाव लडिसकेकाले उनले प्रदेशमा चुनाव नलड्ने बताएका छन् । विगतको स्थानीय चुनावमा मगर समुदायबाट प्रतिनिधित्व नभएको भन्दै विद्रोहमा उत्रिएका संविधान सभासद झुलबहादुर आलेसहितको समूहदेखि अन्य नेताले समेत मगर समुदायबाट प्रदेशमा प्रत्यक्ष टिकट दिइनुपर्ने बताइरहेका छन् ।

नेतृत्वसमेत सकारात्मक बनेको यो विषयमा टिकट पाउनेमा थापा प्रबल दाबेदार देखिएका हुन् । झुलबहादुर आलेले समानुपातिकमा इच्छा देखाए पनि उनको नाम आएन । यस अघि ऋषिंगको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका श्रीराम आलेलाई पार्टीले कारबाही गरेको छ । जिल्ला सभापति नलड्दा मगर समुदायबाटै महाधिवेशन प्रतिनिधि थापालाई टिकट दिइनुपर्ने माग उठेको छ । तनहुँ २(क) माओवादीलाई दिने चर्चा छ । २(ख) मा गठबन्धनभित्र अनि बाहिरसमेत चाम थापाले सबैलाई मिलाउन सक्ने क्षमता राख्छन् । गठबन्धनलाई नै सहयोग हुने हिसाबमा थापाको उम्मेदवारी उचित भएको क्षेत्रीय प्रतिनिधि शिवहरि धिताल बताउँछन् ।

विद्रोही समूहका झुलबहादुर आलेसमेतले प्रदेशको टिकट थापालाई दिएमा सहयोग गर्ने बताइसकेका छन् । पछिल्लो समय पार्टी नेतृत्वसमेत थापाबारे सकारात्मक रहेको देखिएको छ । बोहराटारमा भएको एक छलफल तथा राजधानीका केन्द्रीय नेतृत्वको छलफलमा समेत थापाको विषयमा सकारात्मक चर्चा चलेको निकट श्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्