Logo

विदेशबाट फर्किएर भेडापालनमा



काठमाडौँ,७ असोज । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन् । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्केका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरे विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेका छन् ।

कोरोनाका कारण घर फर्केका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा थिए । त्यत्तिकैमा आफ्नो पुख्र्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उनको मनमा आयो । त्यसैले विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय लिएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत ग¥यो ।

अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । एउटै थुमालाई रु २० हजारदेखि रु ३० हजारसम्ममा बेच्ने गरेको गुरुङले बताए । खसी, बोका, बङ्गुरभन्दा पनि भेडा बढीमा बिक्री हुने उनी बताउछन् । हाल गुरुङसँग ५० भन्दा बढी भेडा छन् ।

गुरुङले घर नजिकै गोठ बनाएर अहिले भेडा पालेका छन् । परिवारका आठ सदस्यको लालनपालन खर्च भेडापालनबाट हुने आम्दानीबाट चल्दै आएको उनले बताए । “घरखर्च कटाएर केही रकम बचत हुन्छ”, गुरुङले भने, “अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ ।” गुरुङले भेडापालनबाट वार्षिक रु तीन लाखको हाराहारीमा आम्दानी हुने गरेको बताए ।

देवी–देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरुङको घरमै आउने गरेका छन् । गाउँछेउकै जङ्गलमा प्रशस्त घाँसपात रहेकाले भेडापालन सहज भएको उनी बताउछन् । “बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन् ।” आफ्नै गाउँठाउँमा मेहेनत गरियो भने विदेशमा भन्दा राम्रो कमाइ हुने भएकाले विदेश नजान गुरुङ अरुलाई सुझाव दिँदैआएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्