Logo

मध्यपुर थिमिमा वडाव्यापी लिग फुटबल प्रतियोगिता हुने



भक्तपुर, असोज ७ । मध्यपुर थिमिमा वडा व्यापी लिग फुटबल प्रतियोगिता हुने भएको छ । मध्यपुर युथ एशोसियसनको संयोजनमा मध्यपुर थिमि नगरपालिकाले ‘मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नगरपालिकाको प्रत्येक वडाबाट एउटा टिम सहभागी हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता प्रचार–प्रसार समितिका संयोजक हरिदास प्रजापतिले जानकारी दिए । जसअनुसार प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेल खेलाईनेछ । प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्नेछ । एक महिना सञ्चालन हुने प्रतियोगिता यही असोज ८ गते शुरु भई कार्तिक ७ गते सम्पन्न हुनेछ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनेछ । टोलीमा मध्यपुर थिमि बाहिरका खेलाडी समावेश हुनेछैन । जुन वडामा खेलाडीको स्थायी बसोबास छ, उसले सोही वडाबाट खेल्नुपर्ने व्यवस्था गरिएको प्रजापतिले बताए ।

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय टोली घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छ । यसैगरी द्धितिय हुनेले एक लाख २५ हजार र तृतिय हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ ।

प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ ।

प्रतियोगिताको कुल अनुमानित लागत २५ लाख रहेको छ । नगरपालिकाले २० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरिसकेको छ । सहभागी प्रत्येक टोलीलाई आयोजकले टिम तयारी स्वरुप जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको र्दुघटना बिमा गरिएको छ ।
प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ । जसमा एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति गठन गरिएको छ । त्यस्तै लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह रहेका छन । मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथी सत्कार समिति सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित र लोकल जनरल कोअर्डिनेटर सविन रञ्जित रहेका छन ।

प्रतियोगिताको मुख्य उद्देश्य मध्यपुर थिमिमा फुटबलको विकास गर्नु, स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने, र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने रहेको प्रतियोगिता संयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्ट कवेले बताए ।

नगरपालिकाले विभिन्न समयमा विभिन्न खेलकुद प्रतियोगितालाई आर्थिक सहयोग गर्दै आएपनि पहिलो पटक नगरपालिका स्वय्मले कुनै खेल प्रतियोगिताको रुपमा ‘मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता – २०७९’ आयोजना गर्न लागेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । उनले लिगबाट उत्कृष्ट खेलाडी छनोटगरी नगरपालिका टिम गठन गर्ने जानकारी समेत दिए ।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलाडीहरुलाई पलायन हुन बाट जोगाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउन पनि नगरपालिकाले खेलमा लगानी गरेको बताए । उनले यसलाई निरन्तर सञ्चालन गर्ने जानकारी पनि दिए ।
एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले लिगले खेलाडी उत्पादनमा कोशेढुंगा सावित हुने बताए ।

 



प्रतिक्रिया दिनुहोस्