Logo

सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना



काठमाडौँ,७ असोज । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताएका छन् ।

दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातास, अवैध धन्दा जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणगर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले भने, “हामीले हप्तापिच्छे दुई–तीनपटक बजार अनुगमन गरिरहेका छौँ । अनुगमनको प्रभावकारिताका लागि कडाइका साथ लगिएको छ ।”

सुर्खेतका बढी भीड हुने वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, गुर्भाकोट, बोटेचौर, सिम्ता, बड्डीचौर, बाबियाचौलगायतका बजारमा व्यापार व्यवसायलाई सेवाग्राहीमैत्री र सहज बनाउन विशेष सुरक्षा योजनाले सहयोग पुग्ने उनले बताए । उनका अनुसार समाजमा अन्य सामाजिक अपराधका घटना घट्न नदिन मुख्य–मुख्य बजारमा सुरक्षाकर्मी खटाइएको छ ।

प्रजिअ रिजालले नागरिकलाई सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतसँग समन्वय गरेर सुपथ मूल्यका पसल सञ्चालन गर्न लगाइएको बताए । सुर्खेतलगायत कर्णालीका दशै जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि पछिल्लो एक हप्तामा सामान किन्ने नागरिकको घुइँचो लाग्न थालेको छ । रासस



प्रतिक्रिया दिनुहोस्