Logo

नेपालले शान्ति क्षेत्र घोषणाको प्रस्ताव ल्याउनु पर्छः सचिव कार्की



काठमाडौँ, ७ असोज । नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीले नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नु पर्ने बताएका छन् । नेपालले परराष्ट्र नीति भनेको घरेलु नीति भएको र त्यसको प्रभाव बाहिर पर्ने बताए ।

शुक्रबार संवाद डबलीमा लेखक भानु भण्डारीद्वारा लिखित ‘भूराजनीति’ नामक पुस्तक विमोचनमा बोल्दै पूर्वसंचारमन्त्री समेत रहेका कार्कीले भने, “नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यसका राम्रा र नराम्रा दुबै पक्ष छन् । मुख्य कुरा भनेको नेपालले कस्तो परराष्ट्र नीति बनाउँछ भन्ने कुरा हो । घरेलु नीतिको विस्तारित रुप नै परराष्ट्रनीति हो । नेपालले स्वतन्त्र परराष्ट्र नीति बनाउनुपर्छ ।” विगतमा भूराजनीतिको गाँठो परेको बेला नेपालले शान्ति क्षेत्रको क्षेत्रको प्रस्ताव ल्याएको बताउँदै पुनः त्यही अवस्था आएको बताए ।

विगतको भन्दा दक्षिण एसियामा जटिल राजनीतिक अवस्था सिर्जना भएको बताउँदै कार्कीले भने, “आज दक्षिण एसियामा जटिल अवस्था सिर्जना भएको छ । अमेरिका आफ्नो बर्चस्व कायम राख्न चाहन्छ र त्यसलाई विस्तार गर्न चाहन्छ । बर्चस्व कायम राख्न र विस्तार गर्न अमेरिकाले चीनलाई बाधक देखेको छ । अर्कोतिर आफ्नो उद्देश्यका लागि अमेरिकाले भारतलाई रणनीतिक साझेदार बनाउन खोजेको छ । हाम्रा दक्षिणको छिमेकी अमेरिकाको साझेदार बन्ने र उत्तरको छिमेकी अमेरिकाको विरोधी बन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नेपालले आफ्नो सार्वभौमसत्तालाई सुनिश्चित गर्नको लागि स्वतन्त्रताको नीति लिनुपर्छ ।”

चीनले पुँजीवादी व्यवस्थामा आफ्नो भूमिका मात्रै नखोजेर त्यसलाई परिमार्जित गर्न खोजिरहेको कार्कीले बताए । तर उसका प्रतिद्वन्दीहरुले आजको विश्व व्यवस्थालाई चीनले धाराशाही बनाउन खोजेको आरोपसहित घेराबन्दी गर्न थालेको कार्कीले धारणा राखे । चीनले अगाडि सारेको बिआरआई परियोजना विश्व व्यवस्थालाई परिमार्जन गर्न ल्याइएको समेत कार्कीले बताउँदै नेपालले आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कार्कीले नेपालमा २०४६ सालयता यो वा त्यो बहानामा पुँजीवादी व्यवस्था चलिरहेको बताउँदै त्यसलाई ब्रेकथ्रु गर्नुपर्ने बताए । पुस्तकका लेखक भानु भण्डारीले नेपालका राजनीतिज्ञको अदुरदर्शीताका कारण देशमा खतरा पैदा भएको बताए । उनले भने, “हाम्रो नेतृत्व धेरै ठाउँमा चुकेको छ, देश, जनता र राष्ट्रियतालाई प्रधान राख्ने क्षमता हाम्रो नेतृत्वमा खस्किँदै गएको छ । विदेशी शक्तिको विश्वास बढी र आफ्ना देशका जनताको विश्वास कम गर्ने प्रवृति बढ्दो छ, यसले देशका सार्वभौमसत्तामाथि खतरा मडारिरहेको छ ।”

विश्व अहिले अमेरिका र चीन–रुस गरी दुई शक्तिमा बाँडिएको बताउँदै भण्डारीले यो भित्र सैन्य खतरा र आर्थिक प्रतिस्पर्धा बढ्दै गएको बताए । उनले ठूला शक्ति राष्ट्रको खेलमा नेपालजस्ता साना राष्ट्र खतरामा रहेको बताए । ठूलो शक्ति राष्ट्रले साना देशलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने गरेको बताउँदै भण्डारीले राजनीतिक नेतृत्व संवेदनशील बन्न नसके नेपाल खतरामा पर्न सक्ने धारणा राखे ।

“अहिले अमेरिकी प्रभुत्व हावी हुन प्रयास गरिरहेको छ । एमसीसी, एसपीपी र अहिले नागरिकता विधेयक, कालापानी, सीमा, नक्साका कुरा उठेका छन् । विदेशीका राजनीतिक हस्तक्षेप भइरहेको छ” भण्डारीले भने । उनले अमेरिकाले अर्थतन्त्र पलायन हुन नदिने गरी अर्थनीति ल्याए तर सानो अर्थतन्त्र भएको नेपाल उदार बन्दै गएका कारण पनि संकट भन्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बाटोमा नगए नेपालको अर्थव्यवस्था नै समाप्त हुने दाबी समेत भण्डारीले गरे ।

पुस्तक प्रकाश जागरण बुक हाउसका संचालक गणेश चितौरियाले भण्डारीले उक्त पुस्तक पाँच बर्षसम्मको खोज तथा अध्ययनपछि तयार गरेको जानकारी दिँदै नेपाल र विश्व भूराजनीतिबारे खोजमूलक सामाग्री समेटिएका बताए । विभिन्न सात अध्यायमा तयार भएको पुस्तक ३८४ पृष्ठको रहेको छ । पुस्तकको बजार मूल्य ७०० रुपैयाँ राखिएको छ । पुस्तक विमोचन बन्धुविक्रम क्षेत्रीले संचालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्