Logo

डेंगु नियन्त्रणबाहिर गइसक्यो, मनसुनपछि अझ चर्को हुन सक्छः जनस्वास्थ्यविद्



काठमाडौं, ८ असोज । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले डेंगु नियन्त्रणमा मौसम र तापक्रमले साथ नदिएको बताएका छन् ।
“अहिले डेंगुको प्रकोप निकै चर्को छ । उपत्यकाभरि जताजतै फैलिएको छ । ‘सर्च एन्ड डिस्ट्रोय अभियान’ दुईचारवटा ‘केस’ भएको बेला गर्ने काम हो । त्यो बेला कुनै काम भएन । नाङ्लेभारे, थानकोट, गोदावरी कहाँ कहाँ अभियान चलाउने ? डेंगुलाई मौसम र तापक्रमले पनि साथ दिएको छ । मनसुनपछि अझ चर्को हुन सक्छ । साँच्चै भन्ने हो भने नियन्त्रणभन्दा बाहिर गइसक्यो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. मरासिनीले भने ।
सरकारी तथ्यांक अनुसार डेंगु संक्रमित २२ हजार छन् भने २९ जनाको मृत्यु भइसकेको छ । डा. मरासिनीले भने, “अहिले आएको सानो तथ्यांक हो । धेरैजसो बिरामी घरमै छन् । काम ढिलो गरेपछि नियन्त्रण पनि ढिलो हुन्छ । मानवीय र आर्थिक क्षति हुन्छ ।”
डेंगुको खोप बने पनि नेपालमा नभएको उनले औंल्याए । डा. मरासिनीले थपे, “डेंगुको औषधि त लामखुट्टे मार्ने हो । कोरोना जस्तै औषधि खाएर निको हुँदैन । धेरै वर्षअगाडि खोप त बनाइएको छ । तर बजारमा उपलब्ध भइसकेको छैन । कतिपय बिरामीले मलाई भनेका छन्- ‘डेंगु त कोरोनाको पनि बाउ रहेछ । १५ दिन थला परें ।’ यो निकै कडा रोग हो । मर्ला मर्लाजस्तो बनाएर मात्र छाड्छ ।”
कर्मचारी समायोजनपछि स्वास्थ्य मन्त्रालयको क्षमता घटेको टिप्पणी पनि डा. मरासिनीले गरे । उनले भने, “कर्मचारी समायोजन अघि काठमाडौं उपत्यका र तराईका सबै जिल्लामा लामखुट्टे चिन्ने जनशक्ति थिए । भेक्टर कन्टोल इन्सपेक्टर र मलेरिया इन्सपेक्टर ८० जना थिए । तिनलाई जनरल हेल्थ वर्करमा बदलिएको छ । स्वास्थ्य मन्त्रालयको क्षमता घटेको छ । स्थानीय तहले पनि यसमा गर्न सक्ने केही छैन ।”



प्रतिक्रिया दिनुहोस्