Logo

कांग्रेसलाई सहयोग गर्दा लोसपाको दुर्दशा भयोः अनिल झा



काठमाडौं, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली नेता अनिलकुमार झाले नेकपा एमालेसँगको तालमेल बाध्यताभन्दा पनि आवश्यकता भएको बताएका छन् ।
“लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले आफ्नै हैसियतमा निर्वाचन लड्ने हो । लोसपालाई कसैसँग तालमेल गर्ने बाध्यता छैन । यो एउटा दलको मात्र नभएर दुवैको आवश्यकता हो । समयको माग हो । यसले मूर्त रुप लिन्छ कि लिँदैन, यसै भन्न सकिन्न,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झा भने । लोसपा अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यका लागि दुईपटक भेटिसकेका छन् ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्वास गर्नु गम्भीर भूल भएको उनले औंल्याए । झाले थपे, “कसैसँग कुरा मिलेन भन्दैमा अहिले पोल खोलाखाल किन गर्ने ? तर मैले पहिलेदेखि नै उपेन्द्र यादव र कांग्रेसलाई विश्वास गर्नुहुन्न भन्दै आएको हुँ । सरकार बनाउँदा र उपसभामुखलाई मतदान गर्दा कांग्रेसलाई सहयोग गरेकाले हाम्रो दुर्दशा भएको छ । कांग्रेसले न्यूनतम राजनीतिक धर्मसमेत निर्वाह गरेन । कांग्रेस त्यतिसम्म गिर्छ भन्ने अपेक्षा थिएन । उपेन्द्र यादवसँग पार्टी एकता भएपछि मैले तीन महिनासम्म हस्ताक्षर गरेको थिइनँ । ऊसँग सहकार्यको चर्चा गर्न पनि मिल्दैन । एउटा एलाइन्स भएपछि अर्कोमा कसरी हुन्छ ?”
नागरिकता विधेयकमा एमालेसँग लोसपाको मतभेद छ, कसरी तालमेल गर्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा झाले भने, “तालमेल भनेको पार्टी मर्जर होइन । सिद्धान्त किनबेच पनि होइन । यो त विशुद्ध तालमेल मात्र हो । यहाँ सिद्धान्तको राजनीति कसले गरेको छ ? आफ्नै टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुर देउवालाई पालकीमा लिएर प्रचण्ड हिँड्नुभएको छैन ? माधव नेपाल, उपेन्द्र यादव पनि पालकीमै घुमाउँदै छन् । बल्ल वार्ता टोली बनेको छ ।”
उनले नागरिकता विधेयक प्रमाणीकरण नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नबोलेकामा पनि आपत्ति जनाए । झाले भने, “अहिले संसद् छैन । सडकबाट महाभियोग लगाउन मिल्दैन । सत्तापक्षले भोटको राजनीतिका लागि मात्र नागरिकता विधेयक ल्याएको हो कि ? मिलेमतो पो हो कि ? जसले विधेयक लगेको थियो, उसले किन बोल्दैन । प्रधानमन्त्री किन बोल्दैनन् ?”



प्रतिक्रिया दिनुहोस्