Logo

“लोकतन्त्रको चिराग बाल्ने ऋषि धमलालाई दलहरूले किन सांसद बनाएनन् ?”



काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सांसद बनाउनुपर्ने बताएका छन् ।
“ऋषिजी, हामीले राजाको निरंकुशताविरुद्ध लडेर लोकतन्त्र ल्याएका हौं । जीवनको बाजी राखेर संघर्ष गरेबापत हामीले के पायौं ? २०६४ देखि २०७४ सम्म बारबार अवहेलना गरेर हामीलाई किनारामा धकेले । २०६२-६३ को जनआन्दोलनका बेला तपाईंले साह्रै जोखिमपूर्ण अवस्थामा पनि पुतलीसडकमा रिपोर्टस क्लब नेपालको साक्षात्कार कार्यक्रम चलाउनुभयो । तपाईंले लोकतन्त्रका निम्ति एउटा चिराग बाल्नुभयो । राजनीतिक दलहरुलाई साथ र सहयोग दिनुभयो । तपाईंले पनि पटकपटक संसद्मा जान खोज्नुभएको हो । तर पार्टीहरुले तपाईंको पनि मूल्यांकन गरेका छैनन् नि,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा नेता घिमिरेले भने ।
उनले एउटा विशाल पंक्तिको भविष्यमाथि खेलबाड गर्नेलाई नछाड्ने दृढता पनि व्यक्त गरे । घिमिरेले थपे, “हामीले आफ्नो जीवन दाउमा राखेर लोकतन्त्र ल्यायौं । हामी माओवादी जस्तो जंगलमा लुकेर लडेको हो र ? हामी त दरबारतिर औंला ठड्याएर लडेका हौ । हामी राजाको निरंकुशताविरुद्ध लडिरहँदा यी नेताहरु कहाँ थिए ? अहिलेका गठबन्धनका नेताहरु को को थिए ? हाम्रो भविष्यमाथि खेलबाड गर्नेलाई हामी छाड्छौं ? हामीलाई सिध्याएर आफूमात्र मात्र रजाइँ गर्ने हो भने कदापि छाड्दैनौं ।”
लोकतन्त्रका नाममा कुलिनतन्त्र हावी भएको आरोप पनि घिमिरेले लगाए । उनले भने, “हामीले लोकतन्त्रको मौलिक चरित्रलाई कुरुप पारिसक्यौं । लोकतन्त्र भनेको चुनाव जित्नु र सरकार बनाउनु मात्र होइन । सीमित मान्छेले राज्यको शक्ति भोग गर्नु पनि होइन । लोकतन्त्र भनेको नेताहरुको मात्र जीवन बदल्नु होइन । लोकतन्त्र भनेको आम जनताको जीवन बदल्नु हो । त्यसका लागि हामी लड्ने बेला आएको छ ।”



प्रतिक्रिया दिनुहोस्