Logo

नेताहरुले डेंगीको बेवास्ता गर्दै निजी स्वार्थमा लाग्दा धेरैको ज्यान गयोः डा.सुन्दरमणि दीक्षित



काठमाडौं, ८ असोज । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले डेंगी प्रकोपबारे सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । नेताहरुले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेगीले धेरैको ज्यान गइसकेको बताए ।

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. दिक्षितले नेताहरुले विगतमा ओमिक्रोनको बारेमा पनि एक शब्द नबोलेको स्मरण गराउँदै डेंगी भयंकर फैलिरहेको भएपनि नेता र पार्टी कही कतै नबोलेको टिप्पणी गरे । उनले भने,‘उनीहरुको ध्यान खाली गठबन्धन र भागवण्डामा सिमित छ ।’

देशका नेताहरु गठबन्धन, महाभियोग र निजि स्वार्थमा केन्द्रीत रहेको भन्दै नेताहरुलाई जनताको स्वास्थ्यबारे चासो र चिन्ता केही नभएको आरोप लगाए । उनले भने, ‘यहि क्लबबाट विगतमा कोरोनाले महामारीको रुप लिन्छ है भन्दा हामीहरुमाथि जताततैबाट अट्याक गरिएको थियो । डेंगीले यति गर्दा पनि सरकारले गम्भीरता देखाएको देखिएन ।’ लामखुट्टे मार्ने धुवाँ समेतको प्रयोग नगरिएको भन्दै सरकारको आलोचना गरे ।

डेंगी नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै दिक्षितले स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको पनि भएको बताए । मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यले गम्भीरताका साथ खटिनुपर्ने बताए ।

डेंगी प्रकोपले पछिल्लो समय कडा रुप लिदै गएको बताएका छन् । आफूले प्रत्येक दिन चेकँजाच गर्ने १० बिरामीमध्ये २-३ जना डेंगी संक्रमित हुने उल्लेख गरे ।

कोरोना भाइरससँग लड्ने क्षमता, प्रतिरोध गर्ने क्षमता बढेकोले कोरोना मथ्थर भएको सुनाउँदै उनले डेंगी एक पटक संक्रमित भएर दोस्रो पटक फेरि भएमा त्यसको रुप झन चर्को हुने बताए । उनले अरु रोग एक पटक लागेपछि रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकोले मथ्थर बनाउन सकिने तर यसमा भए दोस्रोपटक संक्रमण भएमा कडा रुपलिने जानकारी दिए ।

कोही व्यक्तिमा हुबहु लक्षण डेंगीको भएपनि जाँच गराउँदा डेंगी नदेखिने गरेको उल्लेख गर्दै पाँचौं भाई अर्थात् पाचौं भेरियन्ट जन्मेको हो की आशंका लागेको उनले सुनाए ।

डा. दिक्षितले डेंगी संक्रमित गराउने लामखुट्टे मलेरिया गराउने जस्तो नभएको हुनाले बाहिर बस्दा लामो लुगा लगाउन सबैलाई आग्रह गरे । यसको उपचार नभएको भन्दै एउटा भ्याक्सिन मात्र भएको र अहिले सबैलाई दिने नसकिने पनि स्पष्ट पारे ।

एउटा लामखुट्टेले ४÷५ जनालाई टोकर संक्रमित गराउने र मलेरियामा जस्तो टोकेपछि चिलाउने यसमा लक्षण नदेखिने उनले स्पष्ट पारे ।
डेंगी संक्रमित लामखुट्टेले टोकेमा ५ वा ६ दिनपछि ज्वरो आउने त्यसको ५-६ दिनमा प्राय ज्वरो हराउने र ज्वरो ७ दिन भन्दा बढी आएमा खतराको संकेत हुने उनले थप जानकारी दिए । उनले भने,‘७ दिन भन्दा बढी ज्वरो आए, रातो बिमिरा आए र रक्तचाप घट्दै गएमा एकदम खतरनाक अवस्था हो ।’

डेंगी जाँच सँगै रगत जाँच्न जरुरी भन्दै उनले १० दिन भन्दा अगाडि नै बिरामी सिरीयस हुने र १० दिन पछि ज्वरो आएमा डेंगी नहुने बताए । डेंगीको प्रमुख लक्षणहरु ज्वरो आउने, ज्यानदुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, वाकवाक लाग्ने, डायरीया हुने बताए ।



प्रतिक्रिया दिनुहोस्