Logo

देउवामाथि टिकटका लागि दबाब, टिकट नपाए स्वतन्त्रलाई सहयोग गर्ने इतर पक्षको तयारी



काठमाडौं, असोज ९ । सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा संस्थापन इतर पक्षका कम मात्र परेको भन्दै असन्तुष्ट शेखर कोइराला समूहका नेताले प्रत्यक्षतर्फ पनि त्यस्तै अवस्था आए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।

सत्ता गठबन्धन दलहरूबीच मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल हुने भएपछि प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा पर्ने सम्भावन न्यून रहेका नेताहरूको उपस्थिति बाहुल्य कार्यक्रममा टिकट वितरण गुटका आधारमा गरेर पार्टीमा लामो लगानी गरेकालाई अन्याय नगर्न नेतृत्वलाई आग्रह गरिएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले आफूहरूले टिकट नपाए पार्टीका अरू उम्मेदवारलाई सहयोग नगर्ने र स्वतन्त्र उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताए।

कांग्रेस संस्थापन इतर पक्षका केही नेताले एमाले अध्यक्ष केपी ओलीसँग सत्ता गठबन्धनको भागमा परेका निर्वाचन क्षेत्रमा मिलेर उम्मेदवारी दिनेगरी छलफल गरेको चर्चा चलिरहेको छ। सभापति देउवाले सत्ता गठबन्धनमा रहेका अन्य दलका लागि छाडिदिने क्षेत्रमध्येका आधारमा एमाले उम्मेदवारलाई सहयोग गर्ने र बाँकी आधारमा बिपी कांग्रेसका नामबाट उम्मेदवारी दिनेगरी संस्थापन इतरका नेताहरू छलफलमा जुटेको आरोप संस्थापन पक्षले लगाएको छ। यस्तो अवस्थामा कांग्रेस संस्थापन इतरका नेताहरूले टिकट वितरण न्यायोचित नभए सार्वजनिक रूपमै विद्रोह गर्ने चेतावनी दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्