Logo

पार्टीमा ४० प्रतिशत हिस्सा नपाए विद्रोह हुन्छ, हुन्छः भरत खड्का



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टी सभापति शेरबहादुर देउवा आफ्ना नेता कार्यकर्तालाई बेवास्ता गरी गठबन्धन दलहरुलाई मात्र रिझाउन लागिरहेको आरोप लगाएका छन् ।
“एकातिर गठबन्धनको कुरा छ, अर्कातिर आफ्नो पार्टीभित्र एकता छैन । यो ओपन सेक्रेट हो । पार्टीभित्र एकता भयो भने मात्र गठबन्धनमा सभापतिको बार्गेनिङ आफ्नो पार्टीका नेता, कार्यकर्ताको मतलब छैन, अमुक पार्टी र कार्यकर्ताको मात्र चिन्ता छ । त्यसैले हामीले आफ्नो पार्टीभित्र न्याय दिनुस् भनेर खबरदारी सभा गरेका हौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भने ।
उनले पार्टीभित्र न्यायोचित टिकट वितरण नभए विद्रोह हुने चेतावनी दिए । खड्काले भने, “जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह हुन्छ । नेपाली कांग्रेस त लोकतान्त्रिक पार्टी हो । हामी नेताहरुले गल्ती गरे टुलुटुलु हेरेर बस्दैनौं । हामी दासत्व स्वीकार गरेर राजनीतिमा आएका होइनौं । हो, सबैले टिकट पाउँदैनन् । आफ्नो पक्षका कति जनालाई टिकट दियो भनेर गन्नेवाला थिएनौं तर एउटा पक्षलाई कर्नरमा पारेका हुनाले विद्रोहको सम्भावना बढेको छ ।”
६०, ४० को भागबन्डा बाध्यता भएको पनि खड्काले औंल्याए । उनले भने, “पहिले हामीले पार्टीमा भागिस्ता खोज्दैनौं भनेकै हौं । तर समानुपातिक बन्दसूचीमा नै न्याय नभएपछि ४० प्रतिशत हिस्सा खोज्नुपर्ने बाध्यता भयो । यो लुकाउनु पर्ने र लाज मान्ने कुरा छैन । यसको नजीर सभापतिजीले नै बसाल्नुभएको हो । हामी अझै पनि सभापतिजीलाई शालीन तरिकाले नै आग्रह गरिरहेका छौं ।” विद्रोह गरिसकेको स्थितिमा आफूहरुलाई कारबाहीको चिन्ता नभएको पनि उनले औंल्याए ।
८ असोजको खबरदारी सभामा त तपाईंहरुका मुख्य नेताहरु नै सहभागी हुनुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “उहाँहरुलाई हामीले बोलाएका थिएनौं । कार्यकर्ताको स्वतःस्फूर्त दबाबस्वरुप खबरदारी सभा गरिएको हो । नेतृत्वलाई ठीक ढंगले लैजान अब चरणबद्ध सभा हुन्छ । नेतृत्वले न्याय दिन सक्नुपर्छ ।”
अर्को प्रसंगमा कांग्रेस नेता खड्काले डोटीमा कांग्रेसलाई गठबन्धनको आवश्यकता नभएको पनि औंल्याए । उनले भने, “डोटीका ९ पालिकामध्ये साढे सात पालिका कांग्रेसले बिना गठबन्धन जितेको छ । नो गठबन्धनको निर्णय भएको छ । कांग्रेसको ३५ हजार मत छ भने अन्य गठबन्धन दलहरुको मत ३ हजार मात्र छ । कांग्रेसलाई गठबन्धनको कुनै आवश्यकता छैन ।”



प्रतिक्रिया दिनुहोस्