Logo

धनराज गुरुङ किन गएनन् कोइराला समूहको खबरदारी सभामा ?



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू निर्णय गर्ने ठाउँमा भएकाले संस्थापन इतर समूहको खबरदारी सभामा नगएको बताएका छन् ।
“यस्ता भेला र बैठक भइरहन्छन् । पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका साथीहरु कहाँ कहाँ जाने, कहाँ कहाँ नजाने हामीलाई पनि ज्ञान होला । समय, परिस्थिति हेरेर कथाले माग्यो भने जाने हो । अहिले म निर्णय गर्ने ठाउँमा छु । सबैका लागि निर्णय गर्ने हो । मैले सबैलाई न्यायोचित हुने कुरा गर्नुपर्छ । सोही बमोजिमको व्यवहार देखाउनुपर्छ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै गुरुङले भने ।
नेता गुरुङले पार्टी उपसभापतिमा निर्वाचित हुने बित्तिकै शेरबहादुर देउवा सबै कांग्रेसको सभापति आफू सबै कांग्रेसको उपसभापति भनेको पनि स्मरण गरे । तपाईं टिकट पाउने पक्का भएकाले भेलामा नजानुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा गुरुङले थपे, “म पार्टीको उपसभापति हुँ । पार्टीको उपसभापति निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने कुरा न नौलो कुरा हो, न त अनौठो नै हो । टिकटका लागि भेलामा जान छाड्यो भन्दा अनर्थ लाग्छ । हो, मैले डाक्टर शेखर कोइरालाको प्यानलबाट जितेको हुँ । तर खबरदारी सभामा डाक्टर साहेब पनि जानुभएको थिएन नि ।
तपाई अवसरवादी नेताका रुपमा दर्ज हुनुभयो भन्ने आरोप छ नि भन्ने अर्को प्रश्नमा कांग्रेस उपसभापति गुरुङले भने, म आफ्ना लागि होइन, पार्टी, देश र जनताका लागि अवसर खोज्ने नेता हुँ । अवसरवादी नेता भएको भए आधा दर्जनचोटि मन्त्री भइसक्थेँ ।”
संस्थापन इतर समूहबाट समानुपातिक बन्दसूची नसच्चाए विद्रोह र बहिष्कार धम्की आएको छ नि भन्ने प्रश्नमा उनले भने, “गुरुराज घिमिरेजीले के भन्नुभयो भन्नेमा म जान चाहन्नँ । समानुपातिक बन्दसूचीमा छलफल बाँकी छ । हेरफेर बाँकी नै छ । असोज १० देखि १६ सम्म समय छ । त्यसबारे अहिले नै बोल्नुपर्छ भन्ने लाग्दैन ।”



प्रतिक्रिया दिनुहोस्