Logo

पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्मकथा लोकार्पण



काठमाडौं, असोज ९ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक ः पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नामको आत्मकथा लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताए ।

सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा देउवाले नौ दशक लामो आयु बाचेका स्वर्गीय थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूमध्ये एक रहनुभएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, ‘सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालन एवं प्रभावित गर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’

उनको कार्यकालमा मुलुकमा विभिन्न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्री देउवाले मुलुककै इतिहासमा पहिलोपटक जनमत संग्रह उनकै प्रधानमन्त्रीत्व कालमा भएको बताए ।

नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोग्नुभएका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नका लागि एउटा रोचक र गतिलो कृति हुने प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक संघर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्न सफल थापाले जीवनमा गरेको संघर्ष र भोगेको दुःख सुखका कथाहरू यो आत्मकथामा समेटिएको छ । यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्न भएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ । यो आत्मकथा आजका नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृति हुने विश्वास मैले लिएको छु,’ प्रधानमन्त्री देउवाले भने ।

उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्रामलगायतका अन्तर्राष्ट्रिय परिघटनादेखि नेपालको २००७ सालको राजनीतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनीतिक संक्रमण, पञ्चायतकालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादी द्वन्द्व, २०६२/६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।

पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्री हुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालित गरियो, राजनीतिक परिचालन कसरी गरियो भन्नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासक तथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचक हुने प्रधानमन्त्री देउवाले बताए । यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमा आई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुस्तकमा माओवादीसँगको १२ बुँदे सम्झौताका सन्दर्भमा गलत विवरण परेको र त्यसलाई यथावत रहन दिए गलत इतिहास लेखिने भन्दै आगामी संस्करणमा सुधार्न आग्रह गरे ।

अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र स्थापनापछि थापाले समकालीन राजनीतिमा अभिभावकको भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि थापासँगका आफ्ना स्मरणहरु सुनाए ।

आत्मकथा लेखन र सम्पादनमा संलग्न हरिबहादुर थापा, गणेश पौडेल पत्रकार विजय कुमारले पनि आफ्ना अनुभव सुनाएका थिए ।
आत्मकथा बुकहिलले प्रकाशन गरेको हो । थापाको २०७२ वैशाख ३ गते निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्