Logo

पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला



काठमाडौं, ९ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् ।

युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान बनाएका छन् । यो आफैमा अर्थपूर्ण कदम हो ।

पुटिनले बुधबार टेलिभिजन सम्बोधनमार्फत् आणविक अस्त्रको सम्भावित प्रयोग धम्कीमात्र नभएको बनाइसकेका छन् । यसबाट उनी हतियार प्रयोगमा पछि हट्ने छैनन् भन्ने सन्देश दिएका छन् । अब पुटिनले रणनीतिक रुपमा एक या दुई आणविक हतियार प्रहार गर्ने विश्लेषण गर्न थालिएको छ ।

रुससँग ५ हजार ९७७ आणविक हतियार रहेको अनुमान छ । जुन अन्तरमहादेशीय रकेटमा राखेर प्रहार गर्न सकिने खालको छ । तत्कालीन सोभियत संघले सन् १९४९ देखि १९९० बीच ७१५ आणविक अस्त्र परीक्षण गरेको तथ्यांक छ ।

रुसले आणविक हतियार प्रयोग गरेमा अमेरिकालगायत पश्चिमा देशहरुले पनि त्यस्तै जवाफ दिन सक्छन् । यसले सँसारमा आणविक युद्ध हुनसक्छ । जसमा चीनलगायत विभिन्न देशहरुले पनि प्रत्यक्ष या अप्रत्यक्ष संलग्न हुने सम्भावना रहन्छ ।

कोसँग कति आणविक हतियार

अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली नै परिवर्तन भई दोस्रो विश्वयुद्धपछिको खतरनाक अवस्थाको चेतावनी दिए ।

योसँगै विश्वमा आणविक युद्धको खतरा बढेको संकेतहरु मिल्न थालेको छ । पुटिनले आणविक फौजलाई विशेष सतर्क अवस्थामा राखेका छन् । कुनैपनि बेला आणविक हतियार प्रयोगको अवस्था राखिएको छ ।

झण्डै ८० वर्षयता विश्वमा आणविक हतियार बढिरहेको छ । शक्तिशाली राष्ट्रहरुबीच आणविक हतियारको प्रतिष्पर्धा छ । कतिपय महत्वाकांक्षी देशहरुले पनि आणविक हतियार प्राप्त गर्ने रणनीतिका साथ काम गरिरहेका छन् । फेडरेशन अफ अमेरिकी साइन्टिस्टको अनुमान अनुसार विश्वमा सबैभन्दा बढी आणविक हतियार रुससँग छ । रुससँग ५९७७ आणविक हतियार रहेको अनुमान छ । रुससँग नै सँसारकै सर्वाधिक शक्तिशाली आणविक हतियार रहेको बताइन्छ ।

अमेरिकासँग ५४२८, फ्रान्ससँग २९०, बेलायतसँग २२५ आणविक हतियार रहेको अनुमान छ । चीनसँग ३५०, पाकिस्तानसँग १६५, भारतसँग १६०, इजरायलसँग ९०, उत्तर कोरियासँग २० आणविक हतियार रहेको फेडरेशन अफ अमेरिकी साइन्टिष्टको अनुमानित तथ्यांक छ ।

रुससँग ६ हजारभन्दा बढी आणविक हतियार रहेको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्यांक छ । यो विश्वमा रहेको कुल आणविक अस्त्रको आधा हो । रुसपछि अमेरिकासँग साँढे ५ हजार, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ५० आणविक हतियार रहेको तथ्यांक छ ।

विश्वकै शक्तिशाली आणविक हतियार रुससँग रहेको उल्लेख छ । रुसले सन् १९६० को दशकमा परीक्षण गरेको जार बमभन्दा दोब्बर शक्तिशाली आणविक हतियार विकास गरेको सूचनाहरु खुलेका थिए । सन् २०१५ मा रुसले १०० मेगाटनको आणविक बम विकास गरेको उल्लेख छ । जार बमको परीक्षण हुँदा १००० किलोमिटरसम्म असर गरेको थियो । झण्डै सय किलोमिटर क्षेत्र ध्वस्त भएका थिए । जार बमभन्दा दोब्बर शक्तिशाली बलमे २००० किलोमिटरभन्दा बढी क्षेत्र ध्वस्त पार्ने अनुमान गरिएको छ । पुटिनको हातमा यति खतरनाक हतियारको बटन छन् ।

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका अनुसार अहिले विश्वमा आणविक हतियार बोक्ने पनडुब्बी कुल १२९ वटा छ । सबैभन्दा बढी अमेरिकासँग ६८ वटा छ । त्यसपछि रुससँग २९, चीनसँग १२, बेलायतसँग ११, फ्रान्ससँग ८ र भारतसँग १ आणविक हतियारयुक्त पनडुब्बी छन् । अमेरिकासँग रहेको ६८ पनडुब्बीमध्ये आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी १४ वटा छ । ४४ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् ।

रुससँग ११ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ । १८ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । रुससँग सबैभन्दा ठूलो आणविक हतियारयुक्त पनडुब्बी छ । चीनसँग ६ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ भने ६ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । बेलायतसँग ४ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ । ७ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । फ्रान्ससँग ४ आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको र ४ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । भारतसँग आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी एउटा छ ।



प्रतिक्रिया दिनुहोस्