Logo

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउदै



पर्सा, ९ असोज । बीरगंजको घडिअर्वा पोखरीमा आज विहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ । आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, बीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्याहरु बढिरहेकोले अस्पतालले जनचेतना अभिबृद्धिका लागि मुटु परीक्षण कार्यक्रमको आयोजना गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।
आज घडिअर्वा पोखरी र भोलिदेखि गहवा माईस्थानमा विहान ६ बजेदेखि आम सर्वसाधारणहरुको मुटुरोग परीक्षण गरिने र कसैलाई मुटुमा समस्या देखिएमा थप उपचारका लागि मुटुरोग विशेषज्ञहरुमार्फत परामर्श दिनेसमेत कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा हस्पिटलकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले यस वर्ष आफूहरुले बीरगंजका सर्वसाधारणहरुको मुटुको अवस्थाका बारेमा जानकारी लिने, बालबालिकाहरुमा देखिने मुटुको बाथरोगको परीक्षण गर्ने, बीरगंजमा मुटु रोगका अवस्थाका बारेमा अध्ययन तथा अनुसन्धान गर्नेलगायतका योजना रहेकोले सबै सर्वसाधारणहरुले मुटु परीक्षण कार्यक्रममा सरिक हुनुपर्ने बताईन् ।

नेपाल मेडिसिटी बयोधा हस्पिटलले आगामी २९ सेप्टेम्बर २०२२ विहान ६ बजे बीरगंजको घन्टाघरदेखि नेपाल मेडिसिटी बयोधा हस्पिटलसम्म म्याराथुन र सोही समयमा घन्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पतालसम्म वाकाथनको कार्यक्रम आयोजना गरेको विश्व मुटु दिवस कार्यक्रमका संयोजक जितेश दासले बताए ।



प्रतिक्रिया दिनुहोस्