Logo

हर्ष बडाईँ गरेर‍ हनुमानढोकाको दसैँ घरमा राखियो जमरा (फोटोफिचर)



काठमाडौं, असोज १० । परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिअनुसार घटस्थापना गरिएको छ । सोमबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा घटस्थापना गरिएको हो ।

हरेक वर्ष हनुमान ढोकाको दसैँ घरमा विधिपूर्वक घटस्थापना जौ रोप्ने परम्परा रहेको छ । दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ ।

जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दसैंघरमा राखिएका जमरा विशेष गरी विशिष्ट व्यक्तित्व राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशले प्रयोग गर्छन्। ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र विशिष्ट व्यक्तिका लागि दसैंघरमा जमरा राख्ने गरिन्छ।

दसैंघरका जमरा हनुमानढोकास्थित मूलढोकाबाट सर्वसाधारणलाई पनि वितरण गरिन्छ। दसैंघरका जमरा लिन आउने सर्वसाधारणको संख्या ठूलै हुने गरेको अड्डाले जनाएको छ। दसैंघरमा परम्परा अनुसार अड्डाले जमरा राख्दै आएको छ। जमरा राखेसँगै दसैं सुरु भएको मानिन्छ।

जमरा राख्ने शुभ साइतमा पञ्चै बाजा बजाइन्छ। जमरा राख्दा नेपाली सेनाको सार्दुलजङ गुल्मले बन्दुक पड्काएर बढाईं गर्छ। जमरामा जौ, गहुँ, धान र मकै लगायत टुसाउने अन्न राख्ने गरिन्छ। खोलाबाट चोखो बालुवा ल्याई त्यसमा जमरा राखिन्छ। ‘पशुपतिनाथ मन्दिरभन्दा माथिबाट चोखो बालुवा ल्याएर जमरा राख्ने गरिन्छ।

जमरा राखेपछि दसैंघरमा दैनिक नवदुर्गाको पूजा, आरती, चण्डी पूजा गर्नुका साथै बिहान बेलुकी दुर्गा भजन र मालश्री धुन बजाउने गरिन्छ। त्यसैगरी जमरा राखेपछि विशिष्ट व्यक्तिबाट दुर्गाभवानीको पूजा हुने गर्छ।

दसैंघरमा मात्र नभएर परम्परा अनुसार घरघरमा जमरा राख्ने चलन छ। परिवारको सुख, शान्ति र उन्नतिको संकल्प गर्दै घरघरमा जमरा राखिन्छ भने देशवासीको सुख, शान्ति र उन्नतिको संकल्प गर्दै हनुमानढोकास्थित दसैंघरमा जमरा राख्ने परम्परा छ। जमरा राखेसँगै दसैं सुरु भएको मानिन्छ। यसरी राखिएका जमरा नौ दिनपछि विजया दशमीको उपलक्ष्यमा मान्यजनबाट टीकासँगै शिरमा सिउरिने गरिन्छ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स क्लब नेपाल



प्रतिक्रिया दिनुहोस्