Logo

सन्दीप लामिछाने कहाँ छन्



काठमाडौं, १० असोज । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने देश बाहिर नै छन् । उनीमाथि नाबालिग बलात्कारको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान बढाएर लामिछानेलाई खोजिरहेको छ । तर, उनी देशबाहिर बसेर कानून व्यवसायी भेटघाट देखि भावनात्मक पोष्ट सामाजिक सञ्जालमा गरिरहेका छन् ।

लामिछानेले आफूमाथिको आरोप झूटा रहेको दाबी गर्दै आएका छन् । ९ असोजमा पनि उनले सामाजिक सञ्जालमा लामो पोष्ट गरेर आफू विरामी भएर आइशोलेशनमा रहेको दाबी गरे । तर, त्यो पोष्ट उनले कहाँ बसेर गरे भन्ने चासो रहेको छ ।

सन्दीप लामिछाने दुबई, सिंगापुर, मलेशिया, हङकङमध्ये कुनै मुलुकमा रहेको आशंका गरिएको छ । उनीसँग विभिन्न देशहरुको भीसा रहेको बुझिएको छ । लामिछानेले चाँडे नेपाल आउने भनिएपनि फर्किएका छैनन् । उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी भएको थियो ।

नेपाल तत्काल नफर्किने सन्दीपको रणनीति बुझेपछि उनका नाममा इन्टरपोलमा पक्राउ आदेश जारी हुनसक्छ । त्यसो हो भने इन्टरपोलको सदस्यराष्ट्र जहाँ भएपनि उनी पक्राऊ पर्न सक्छन् । सन्दीपले कानून व्यवसायीसँग देशबाहिर नै बसेर सल्लाह लिएको बुझिएको छ । उनले त्यसकै आधारमा आफ्ना गतिविधिहरु देखाइरहेका छन् ।

सन्दीपविरुद्ध १७ वर्षकी एक नाबालिगले बलात्कारको आरोप लगाएपछि उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको छ । सन्दीपमाथि ५ भदौमा काठमाडौंको एक होटलमा दुईपटक बलात्कार गरेको आरोप ती युवतीको छ । युवती सन्दीपसँग नगरकोट समेत घुमेर फर्किएको खुलेको छ । २३ भदौमा सन्दीप लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न अदालतले अनुमती दिइसकेको छ ।

२२ वर्षीय सन्दीप लामिछाने नेपालको खेल इतिहासमा सबैभन्दा सफल भएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट लिगहरु खेलेर ठूलो धनराशी आर्जन गरेका छन् । जुन नेपालको खेल इतिहासमा अहिलेसम्मकै सर्वाधिक हो ।



प्रतिक्रिया दिनुहोस्