Logo

सन्दीप लामिछाने पक्राऊ पर्ने



काठमाडौं, १० असोज । नेपालका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ पर्ने निश्चितप्रायः भएको छ । उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि पक्राऊ पर्ने निश्चितप्रायः भएको हो ।

अब इन्टरपोलको सदस्यराष्ट्रले सन्दीपलाई आफ्नै देशको अभियुक्त मानेर खोजी गर्नेछ । सन्दीप नाम चलेका व्यक्ति भएकाले उनी इन्टरपोलको सदस्य राष्ट्रमा लुकेर बसेको भए पक्राउ पर्ने सम्भावना रहन्छ ।

सन्दीप कहाँ छन् यकिन नभएपछि सम्भावित देशहरुलाई दृष्टिगत गरी त्यहाँ खोजी कार्य हुने बुझिएको छ । उनीमाथि नाबालिग बलात्कारको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान बढाएर लामिछानेलाई खोजिरहेको छ । तर, उनी देशबाहिर बसेर कानून व्यवसायी भेटघाट देखि भावनात्मक पोष्ट सामाजिक सञ्जालमा गरिरहेका छन् ।

लामिछानेले आफूमाथिको आरोप झूटा रहेको दाबी गर्दै आएका छन् । ९ असोजमा पनि उनले सामाजिक सञ्जालमा लामो पोष्ट गरेर आफू विरामी भएर आइशोलेशनमा रहेको दाबी गरे । तर, त्यो पोष्ट उनले कहाँ बसेर गरे भन्ने चासो रहेको छ ।

सन्दीपविरुद्ध १७ वर्षकी एक नाबालिगले बलात्कारको आरोप लगाएपछि उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको छ । सन्दीपमाथि ५ भदौमा काठमाडौंको एक होटलमा दुईपटक बलात्कार गरेको आरोप ती युवतीको छ । युवती सन्दीपसँग नगरकोट समेत घुमेर फर्किएको खुलेको छ । २३ भदौमा सन्दीप लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न अदालतले अनुमती दिइसकेको छ ।

२२ वर्षीय सन्दीप लामिछाने नेपालको खेल इतिहासमा सबैभन्दा सफल भएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट लिगहरु खेलेर ठूलो धनराशी आर्जन गरेका छन् । जुन नेपालको खेल इतिहासमा अहिलेसम्मकै सर्वाधिक हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot