Logo

पार्टीले हारेको अर्को दिन देउवाले सभापति पद छाड्नुपर्छः डा. चन्द्र भण्डारी



काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई दाइजो वा उपहार दिनका लागि नभएको बताएका छन् ।

“गठबन्धन भनेको निर्वाचन जित्नका निम्ति हो, विकासका निम्ति हो । तर त्यसका निम्ति आफ्नो पार्टीलाई पनि एकताबद्ध राख्नुपर्‍यो ।समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई उपहार, दाइजो दिनका लागि होइन । संसद् सबैको फूलबारी बनोस्, नेपालको अनुहार झल्कियोस् भनेर हो । अहिलेको समानुपातिक बन्दसूची चुनावमा विजयी गराउने खालको छैन, यसले कांग्रेसको समानुपातिक मत पनि घटाउँछ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भण्डारीले भने ।
समानुपातिक निर्वाचन प्रणाली कसैलाई रोजगार दिनु नभएको पनि उनले औंल्याए । डा. भण्डारीले भने, “अहिले जोस, जाँगर र विद्रोही भावना भएका युवा साथीहरुले उठाएको कुरालाई पार्टी नेतृत्वले चुनौतीका रुपमा लिनुपर्छ । पार्टी कुनै गुटको पसल होइन । पार्टी पुच्छरको पसल पनि होइन । समानुपातिक प्रणाली आफ्नो मान्छेलाई रोजगारी दिने कुरा होइन । कसैलाई बेच्न आएको पनि होइन । पार्टीभित्र न्यायका निम्ति हामी हिजो पनि लडेका हौं, भोलि पनि लड्छौं । तर कांग्रेसलाई कमजोर हुन दिन्नौं ।”
पार्टीभित्रको एउटा शक्तिको सदासयतालाई अपमान गर्दा विद्रोह स्वाभाविक भएको पनि कांग्रेस नेता डा. भण्डारीले औंल्याए । उनले थपे, “हाम्रो समूहको यति जनालाई समानुपातिक राख्नैपर्छ भन्ने होइन । ६०–४० को भागबन्डा खोजेको पनि होइन । समान अवसर र न्याय खोजेको हो । हाम्रो सदासयतालाई अपमान गर्दा भोलि विद्रोह उठ्न सक्छ ।”
गठबन्धन भनेको कमजोर उम्मेदवार खोजेर अरुलाई बुझाउनु नभएको पनि कांग्रेस नेता डा. भण्डारीले बताए । उनले भने, “गठबन्धन भने पनि जे भने पनि प्रत्यक्षमा जसले जित्न सक्छ, उसलाई दिने टिकट हो । एउटालाई संघमा दिएपछि अरुलाई प्रदेशमा दिन सकिन्छ । पार्टी सभापतिले एकलौटी गर्ने हो भने पनि हामी सहयोग गरौंला । तर निर्वाचन हारेको अर्को दिन उहाँले सभापति पदबाट राजीनामा दिनुपर्छ ।” पार्टीको नेतृत्व गर्ने बेला आइसकेकाले कांग्रेसबाट नबाहिरिने पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot