Logo

रवीन्द्र मिश्र राप्रपामा टिक्लान्



काठमाडौं, ११ असोज । विवेकशील साझा पार्टीबाट राजीनामा दिनुअघि रवीन्द्र मिश्रले उक्त पार्टीको प्रमुख पद त्यागेका थिए । उनले उक्त पद त्यागेर आफूले नैतिकताको उदाहरण दिएको सन्देश दिन खोजे । वास्तवमा उनी विवेकशीललाई नदीको बीचमै छाडेर अर्को डुंगा चढ्ने तयारीमा थिए । नभन्दै मिश्रले राप्रपा प्रवेश गर्न लागेको सूचना बाहिर आयो ।

वरिष्ठ उपाध्यक्ष बनेर मिश्र राप्रपामा प्रवेश गर्ने निश्चित भएको छ । त्यसअघि उनले चर्चामा आउने केही कार्यहरु पनि गरे । विचारभन्दा माथि देश शिर्षकको पुस्तक प्रकाशित गरे । गणतन्त्रको विरोधमा बोले जुन उनले विगतमा बोलेका थिएनन् ।

मिश्रले खान पुगोस् दिन पुगोस् अभियान नै चलाए । जसमा करोडौं संकलन भयो । सामाजिक गतिविधि हुँदै राजनीतिमा लाग्दा उनको चर्चा चलेको थियो । काठमाडौं १ मा प्रकाशमान सिंहबाट २०७४ को चुनावमा पराजित भएपछि मिश्रलाई धक्का लाग्यो । उनको दलभित्र विवाद चुलियो । त्यसपछि उनले डुब्नबाट जोगिन राप्रपाको डुंगा समात्ने निर्णय लिए ।

मिश्र आक्रामक अभिव्यक्ति दिन्छन् । तर, उनीसँग बलियो टिम छैनन् । एक्लै अगाडि बढ्न खोज्छन् र चर्चा बटुलिरहन्छन् । तर, उनको एजेन्डाप्रतिको प्रतिवद्धतामा धेरैले विश्वास गर्दैनन् । जुन एजेन्डाका साथ मिश्रले साझा पार्टीको सुरुवात गरेका थिए त्यो छाडेर फरक एजेन्डा समातिसकेका छन् ।

राप्रपा प्रवेश गरेपनि मिश्रलाई पुराना पञ्चहरुको प्रभाव भएको दलमा टिक्न सजिलो छैन । यसकारण मिश्र कुनैपनि बेला विचलित भई निस्कन पनि सक्छन् । उनी केन्द्रित हुनेभन्दा छरिन तर्फ लागेका छन् । जसले राजनीतिमा धक्का दिन सक्छ ।



प्रतिक्रिया दिनुहोस्